बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

गायन हुँदै मोडलिङमा जम्न खोज्दै डोटेल

मङ्गलबार, २० चैत २०८०, ०९ : १७
मङ्गलबार, २० चैत २०८०

अहिले गीत–सङ्गीतको माहौल कस्तो छ भन्ने प्रश्नमा अचेल अधिकांश सङ्गीतकर्मीको एउटै जवाफ हुन्छ– गीत–सङ्गीतको माहौल बिग्रिएको छ । तर, यस मामिलामा अन्यभन्दा भिन्न देखिएका छन् गायक रूपक डोटेल । उनी पछिल्लो समय सङ्गीतको बजार राम्रो र विस्तार भएको बताउँछन् ।

‘सङ्गीतको बजारमा मात्र होइन, लगानी पनि बढेको छ’, गायक डोटेलले भने, ‘धेरै कलाकार भित्रिएका छन् । के यो राम्रो होइन र ?’

अचेल गीत–सङ्गीत बाहिर ल्याउन विभिन्न म्युजिक कम्पनीसमेत धाउनु नपर्ने उनको भनाइ छ । उनले भने, ‘युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्मको विकासले गीत–सङ्गीत बाहिर ल्याउन सजिलो भयो । आम्दानीका लागि विभिन्न मेला महोत्सव समेत प्रशस्तै छन् ।’

डोटेल पछिल्लो समयका चर्चित गायक हुन् । स्वदेशी मेला महोत्सवको अलावा विदेशका कार्यक्रममा समेत उनको डिमान्ड छ । नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुने एक कार्यक्रममा लागि उनी बुधबार बेलायत उड्ने तयारीमा छन् ।

बेलायतको कार्यक्रममा नयाँ गीत दिने उद्देश्यले उनले भर्खर ‘मेरो माया तिम्रो लागि’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । सङ्गीत तथा स्वर उनकै रहेको गीतको शब्द डेनमार्क निवासी मनि सुवेदीको छ ।

‘अभिनयमा रहर पनि थियो’, डोटेलले बाध्यता खोले, ‘गायक चिनिन पछिल्लो समय भिडियो अभिनय अनिवार्य भएको छ ।’

गत शुक्रबार सार्वजनिक गीतले दिन प्रतिदिन चर्चा बटुल्दैछ । आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतबाट डोटेलले ठुलो अपेक्षा राखेका छन् । किनभने आफ्नै स्वर तथा सङ्गीतमा उनले ल्याएको सेन्टिमेन्टल गीत यो पहिलो हो ।

गीतको भिडियो पनि बनेको छ । जसमा उनले नै अभिनय गरेका छन् । अभिनयमा पनि यो उनको ‘डेब्यु’ हो । अभिनय रहर र बाध्यता दुवै भएको उनी बताउँछन् ।

‘अभिनयमा रहर पनि थियो’, डोटेलले बाध्यता खोले, ‘गायक चिनिन पछिल्लो समय भिडियो अभिनय अनिवार्य भएको छ ।’ भिडियो अभिनय ग¥यो भने पब्लिकमा चिनिने र चिनियो भने धेरै कुरामा सजिलो हुने उनको बुझाइ हो ।

भिडियोमा उनको जोडी मोडल गरिमा शर्मा छिन् । शर्मासँग भिडियो अभिनय उनका लागि सहज थिएन । ‘सुरुमा त म नर्भस भएँ । बिस्तारै काम गर्दै जाँदा सहज भयो’, उनले भने, ‘गरिमाबाट धेरै कुरो सिक्न समेत पाएँ ।’

  • अभिनय पहिलो

डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि माया’, ‘सपनी राम्रो देखिनँ सानु माया’ लगायत थुप्रै गीत हिट छन् । ‘सपनी राम्रो देखिनँ सानु माया’ उनको करियरलाई उचाइ दिने पहिलो गीत पनि हो । यो गीतपछि उनले यो क्षेत्रमा पछि फर्किएर हेर्नु परेन ।

लोक, गजल, पप, आधुनिकदेखि पार्श्व गायनसम्म छाउन सफल उनले पाँच सयभन्दा बढी गीतमा स्वर भरिसकेका छन् । भिडियो अभिनय भने ‘मेरो माया तिम्रो लागि’ गीत पहिलो हो । गीतकार मनि सुवेदी र भिडियो निर्देशक खड्काको प्रेरणा र हौसलाले उनी भिडियो अभिनयमा होमिएका हुन् ।

‘भिडियो अभिनयका कारण म एकदमै एक्साइटेट छु । डर पनि लागेको छ’, उनले डरको कारण खोले, ‘मेरो अभिनयमा दर्शक–श्रोता कन्भिन्स हुनुहुन्छ कि हुँदैन भन्ने छ ।’

भिडियोले अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको उनले सुनाए । ‘प्रतिक्रिया राम्रो आउनु भनेको काम राम्रो हुनु हो,’ उनले भने ।

गीतमा प्रेमपीडा भए पनि भिडियोमा भने त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । आफूले देखेको, भोगेको र सुनेको सबै कुरा गीतमा समेटेको डोटेल बताउँछन् ।

‘मेरो जीवनमा प्रेमका प्रसङ्ग भएन भन्न मिल्दैन । केही प्रेमपीडा पनि भए’, उनले अगाडि भने, ‘अहिले पारिवारिक जीवनमा रहेकोले व्यक्त गर्न मिल्दैन । गीत मार्फत केही फिल गराउने कोसिस गरेको छु ।’

भनिन्छ, दुःख बाँड्यो भने कम हुन्छ । त्यही कोसिस आफूले गीतमा पनि गरेको उनले बताए । उनले भने, ‘यस्तो घटनाबाट हाम्रा साथीभाइ पनि गुज्रिएका होलान् । यो गीतमार्फत उनीहरूलाई हल्का गराउने कोसिस पनि हो ।’

गीतले एउटा प्रेम सकिँदैमा जीवन सकिँदैन भन्ने सन्देश समेत बाँड्ने उनले सुनाए ।

  • सङ्गीतको लगानी उठ्दैन

पछिल्लो समय सङ्गीतको लगानी उठ्न मुस्किल छ । यो सत्य उनी पनि स्विकार्छन् । तै पनि नयाँ गीत ल्याउने क्रम उनको रोकिएको छैन ।

आफ्नो पेसा यही भएकाले नयाँ गीत–सङ्गीत निरन्तर ल्याउनुपर्ने विचार उनको छ । बजारमा यसको रिटर्न छ/छैनभन्दा पनि निरन्तरताका लागि नयाँ गीत बनाउने गरेको उनी बताउँछन् ।

‘हरेक पटक मेला महोत्सवमा श्रोताको अगाडि जाँदा सधैँ पुरानो गीत लिएर जाने कुरो भएन । केही नयाँ गीत–सङ्गीत लिएर त जानु प¥यो नि’, डोटेलले भने, ‘त्यसैले केही गीत अझै आउने क्रममा छन् ।’

नयाँ कार्यक्रममा अफरका लागि पनि गायकले नयाँ गीत–सङ्गीत ल्याइरहनुपर्ने उनको धारणा छ । उनले भने, ‘पुरानै गीत सुन्न पटकपटक गायकलाई किन कार्यक्रममा बोलाउने ?’

  • सपना पूरा

रियलिटी शो ‘नेपाल तारा’को पहिलो सिजनको सेकेन्ड रनरअप हुन् उनी । रियलिटी शोबाट आएको कारण नै उनी गजल, पप, लोक, आधुनिक, सेन्टिमेन्टदेखि पार्श्व गायनसम्म आफूलाई भिजाउन सफल छन् । ‘मलाई आधुनिक र सेन्टिमेन्टल गीत बढी नै कम्फर्टेवल लाग्छ’, उनले थपे, ‘सेन्टिमेन्टल गीत जीवन्त हुन्छ ।’

गीत–सङ्गीतमै दुई दशक बिताएका डोटेलले आर्थिक रूपमा ठुलो छलाङ मार्न भने सकेका छैनन् । तर पनि एकदमै खुसी छन् उनी । ‘पैसाभन्दा ठुलो अडियन्सको माया पाएको छु । देश विदेशमा चिन्छन् । त्यो ठुलो हो । पैसा त अझै कमाउन सकिन्छ नि’, उनले खुसी साटे, ‘कामको कारण बेला बेलामा राम्रा र प्रतिष्ठित अवार्ड र पुरस्कार प्राप्त गरेको छु । त्यो पैसाले किन्न सकिने कुरो होइन ।’

त्यसो त साङ्गीतिक क्षेत्रमा प्रवेशको समय ठुलो सपना पनि थिएन उनको । राम्रो गायक बन्ने, सबैतिर चिनिने सपना थियो । त्यो अहिले पूरा भएको उनले बताए ।

नेपाली गीत–सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी प्रतिष्ठित बनाउने भन्ने चिन्तनमा आफू अहिले लागिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप