आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डेले भने– ‘फेरि मुख्यमन्त्री बन्न प्रयास गर्छु’

बुधबार, २१ चैत २०८०, १२ : २२
बुधबार, २१ चैत २०८०

पोखरा । पदबाट राजीनामा दिएर कामचलाउ बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि मुख्यमन्त्रीको दौडमा रहेको बताएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले अरू दलहरू जस्तै आफूले पनि प्रयास गर्ने बताएका हुन् ।

राजीनामा दिएर उपधारा (३) अनुसार मुख्यमन्त्री बन्ने दाउ खोजेको प्रतिक्रिया आइरहँदा पाण्डेले भने, ‘ठुलो दल होइन, त्यो भन्दा पहिले नै मेरो काम सुरु हुन्छ । आजबाट राजीनामा दिएपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । प्रदेश प्रमुखबाट पुनः उपधारा (२) अनुसार नै सरकार बनाउन आह्वान हुन्छ होला, विगतको अभ्यास हेर्दा । मैले पनि दुई वा सो भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री हुन सक्छु । यदि मैले पुर्याउन सकिनँ र अरू कसैले पुर्याउन सक्यो भने उहाँहरू बन्नुहुन्छ । त्यो प्रक्रिया सकियो भने मात्रै (३) मा पुग्ने हो ।’

राप्रपाले निर्णय नलिँदासम्म कसैले पनि बहुमत पुर्याउन सक्ने अवस्था गण्डकीमा छैन । राप्रपाले २७ चैतसम्म कतै समर्थन नगर्ने बताइरहेको छ । राप्रपा सरकार निर्माणको प्रक्रियामा सामेल भएपछि आफूले पनि प्रयास गर्ने पाण्डेको भनाइ छ । ‘जब राप्रपा सरकार निर्माण प्रक्रियामा सामेल हुन थाल्नुभयो भने म पनि प्रक्रिया थाल्छु । क–कसलाई लिएर सरकार बनाउनुपर्छ म प्रयास गर्छु,’ उनले भने, ‘सरकार कुन उपधाराको बन्छ मलाई भन्दा प्रदेश प्रमुखलाई थाहा छ । विगतको प्राक्टिस हेर्दिनुस् भनेको छु ।’ 

राजीनामा दिएपछि उनले प्रदेश प्रमुखसँग केहीबेर वार्ता गरेका थिए । उक्त क्रममा छिटो सरकार निर्माण प्रक्रिया थाल्न आग्रह गरेको पाण्डेले बताए । ‘म गत वर्ष मुख्यमन्त्री हुँदा छोटो समयमा बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउन गाह्रो भयो । समयको चाप छ । त्यो चापले गर्दा खुलेर गत वर्ष छलफल गराउन सकिनँ,’ अघि भने, ‘त्यो अवस्था फेरि आउन सक्छ । त्यसैले छिटो सरकार बन्ने प्रक्रियामा जानुस् भनेर आग्रह गरेको छु ।’

फरक प्रसङ्गमा उनले मुलुकको नेतृत्व गर्नेहरू नै अस्थिर बनेका कारण वर्तमान अवस्था सिर्जना भएको बताए । ‘जनताले सुशासन पनि खोजेका छन्, स्थिरता पनि खोजेका छन् । संविधानमा स्थिरताकै २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, एक पटक अविश्वासको प्रस्ताव दर्ता भएपछि पुनः १ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेका थियौँ,’ पाण्डेले भने, ‘तर जसले स्थिरता कायम गर्नुपर्ने हो, जसले मुलुकको नेतृत्व गरेको छ, उहाँ नै अस्थिर बनेका कारण यो समस्या ज्युँका त्युँ रह्यो ।’ 

वर्षमै ३ पटकसम्म सरकार फेरिएर देशले समृद्धि हासिल गर्न नसक्ने उनको टिप्पणी छ । ‘जनताहरू राजनीतिक दलहरू मिलेर आर्थिक समृद्धिको काम गरुन् भन्ने चाहन्छन् । एक वर्षमा ३ पटक सरकार फेरबदल होस्, आफूलाई व्यक्ति केन्द्रित गरेर सत्ता स्वार्थमा अस्थिरताका क्रियाकलाप नगरुन् भन्ने चाहन्छन् । अहिले जे घटनाक्रम भइरहेको छ, यो जनताको चाहना विपरीतको हो,’ उनले थपे, ‘यो राजनीतिक दलहरूले गहिरिएर सोच्नुपर्छ । यदि यसलाई सम्बोधन गर्न सकेनौँ र मैले जे गर्छु त्यही ठिक हो भन्ने लाग्छ भने संवैधानिक रूपमा ठिक भए पनि जनताको मनमा ठिक भइरहेको छैन ।’

गत वैशाख १४ गते मुख्यमन्त्री बनेका पाण्डेले आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए । ‘मैले जुनबेला सरकारको कार्यभार सम्हालेँ, बजेटको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र बजेट ल्याउन छोटो समय थियो । तैपनि केही नयाँ ढङ्गबाट जाने प्रयास गरेको थिएँ । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा नयाँ र परिष्कृत तथा कार्यान्वयन हुन सक्ने योजना ल्याउने सोचेको छु । तर बिचमा राजनीतिक घटनाक्रम बदलिएको हुँदा त्यो अवस्था पाइन्छ कि पाइँदैन पछिको कुरा हो,’ उनी भन्छन्, ‘मैले आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन इमानदारिताका साथ काम गरेँ । सुशासनका हिसाबमा पनि कसैसँग तुलना त गर्न चाहन्न । गण्डकी प्रदेश १ नम्बरमा नै थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप