जीतपुर सिमरा अस्पतालमा बिरामीको चाप बढ्दै
बारा । वर्षदिन अघिसम्म सुनसान रहेको जीतपुर सिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओ.पी.डी. सेवा सञ्चालन गर्दै आएको छ ।
विगतमा खकार, रगत, सुगर, थाईराइड, मुटु, मिर्गौला परीक्षण गर्न वीरगन्ज, हेटौँडा काठमाडौँ जाने बिरामीहरूले अहिले जीतपुर सिमरा अस्पतालबाटै सेवा पाउन थालेका छन् ।

मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए/नभएको परीक्षण समेत जीतपुर सिमरा अस्पतालबाटै पाउने अस्पतालका प्रमुख डा. प्रकाश साहले जनाएका छन् ।
‘हामीले बिरामीको चाप बढेपछि ओपीडी पनि बिहान ९ देखि साँझ ५ बजेसम्म चलाउन सुरु गरेका छौ’ अस्पतालका प्रमुख डा.साहले भने– ‘मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात हो/होइन भनेर परीक्षण गर्न ल्याब जाँच गर्न पहिला वीरगन्ज, हेटौँडा पठाउँथ्यौ, अहिले त्यो सेवा हाम्रै अस्पतालमा सुरु भएको छौ ।’
अहिले दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

‘अहिले जीतपुर सिमरा अस्पतालप्रति बिरामीहरूको धेरै नै विश्वास बढ्दै गएको हामीले पाएका छौँ, पहिला सानोतिनो समस्या लिएर वीरगन्ज, हेटौँडा जाने बिरामीहरू पनि हामीकहाँ आउनुभएको छ ।’ अस्पताल इन्चार्ज डा.साहले भने– ‘हामीकहाँ सुगर, प्रेसर, दम थाईराइडर, भाइरल ज्वरो, रुघा, खोकीका बिरामीहरू बढी आइरहनुभएको छ ।’
जीतपुर सिमरा अस्पतालबाट उपमहानगरका २४ वटै वडाका स्थानीय बाहेक बाराका अन्य पालिका र रौतहटसम्मका बिरामीले सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
४ जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि फार्मेसी सञ्चालन गरेको छ, जसमा नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू निःशुल्क पाइन्छ भने अन्य बजारमा पाइने महँगो औषधीमा न्युनतम् शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरले शिक्षा र स्वास्थ्यमा सुधार गर्ने नीति अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पतालको रूपमा सञ्चालन गरेका हो ।
अस्पताललाई चुस्त दुरुस्त सञ्चालन गर्न अझै धेरै व्यवस्थापनको काम गर्न बाँकी रहेको डा.साहले जनाएका छन् ।
अस्पतालका ल्याब टेक्निसियन रमनकुमार उपाध्यायले ल्याब परीक्षणका लागि २ महिनाअघि नयाँ मेसिनहरू सञ्चालनमा ल्याएको बताएका छन् । ‘बिरामीलाई पहिला धेरै परीक्षण गर्न चर्को शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता थियो अहिले यही धेरै सुविधा उपलब्ध छ’ ल्याब टेक्निसियन उपाध्यायले भने– ‘अहिले हाम्रो ल्याबमा चिनी रोग, लिभर, मिर्गौला, मुटुको सबै परीक्षण हुन्छ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण