आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
दोस्रो एकदिवसीय क्रिकेट

फेरि पनि नेपाल ‘ए’ को निराशाजनक ब्याटिङ, आयरल्यान्ड ‘ए’ सँग ११४ रनले हार्‍यो

शुक्रबार, २३ चैत २०८०, १४ : ३८
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई एक सय १४ रनको फराकिलो अन्तरले हराएको हो ।  

एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एकदिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

दोस्रो खेलमा पनि नेपाली ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो सयम क्रिजमा टिक्न सकेनन् । नेपालका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । भीम सार्कीले सर्वाधिक १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए ।

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयस एक्लैले ६ विकेट लिए । उनले ४.५ ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिए । फियोन ह्यान्ड र थोमस मायसले पनि दुई–दुई विकेट लिए । नेपालले अतिरिक्त रूपमा नौ रन पाएको थियो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि भने गाभिन होएले अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । कप्तान निल रकले पनि टोलीको खातामा ४५ रन थपे । लियाम म्याकार्थीले पनि ३५ रन बटुले ।

पिटर मुरले १७ रन बनाए । आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । साहब आलमले १० ओभरमा एक मेडन राख्दै ३५ रन खर्चिए ।

रिजन ढकालले भने आठ ओभरमा ३० रन खर्चिएका थिए । यसका अतिरिक्त मौसम ढकालले पनि दुई विकेट हात पारे । कमलसिंह ऐरीले पनि एक विकेट लिए । आयरल्यान्डले अतिरिक्त रूपमा पनि ११ रन पाएको थियो ।  

नेपालको पहिलो विकेटका रूपमा ओपनर देव खनाल पेभेलियन फर्किएका थिए । देवले खातासम्म खोल्न सकेनन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराएका थिए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका थिए ।

नेपालले दोस्रो विकेटका रूपमा नरेन भट्टलाई ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका थिए । २.३ ओभरमा नरेन आउट हुँदा नेपालले केवल सात रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा अर्जुन साउदलाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान अर्जुनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले कप्तान निल रकद्वारा क्याच गराएका थिए । ८.२ ओभरमा अर्जुन साउद आउट हुँदा नेपालले ३३ रनमात्र बनाउन सकेको थियो ।

नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पिटर मुरद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि भीमले २१ बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाएका थिए । नवौँ ओभरको अन्तिम बलमा भीम आउट हुँदा नेपालले ३४ रन बनाएको थियो ।

पाँचौँ विकेटका रूपमा नेपालले आरिफ शेखलाई गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका थिए । आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । हमफ्रेयसले लिएको यो तेस्रो विकेट थियो । १०.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ३८ रनमात्र बनाउन सकेको थियो ।

नेपालले छैटौँ विकेटका रूपमा बसिर अहमदलाई गुमाएको थियो । उनलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर थोमस मायसले विकेटकिपर निल रकद्वारा क्याच गराएका थिए । १३.४ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा रिजन ढकाललाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । रिजनलाई आयरल्यान्डका बलर हमफ्रेयसले एलबीडब्लूको धरापमा पारेका थिए । हमफ्रेयसले लिएको यो चौथो विकेट थियो । १५औँ ओभरको अन्तिम बलमा रिजन आउट हुँदा नेपालले ५१ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर थोमस मायसले पिटर मुरद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि कप्तान विनोदले १९ बलमा दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । १५.५ ओभरमा विनोद आउट हुँदा नेपालले ५९ रन बनाएको थियो ।  

नेपालले नवौँ विकेटका रूपमा साहब आलम एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई आयरल्यान्डका बलर हमफ्रेयसले विकेटकिपर निल रकद्वारा क्याच गराएका थिए । १६.४ ओभरमा साहब आलम आउट हुँदा नेपालले ६० रन बनाएको थियो ।

यसैगरी नेपालले अन्तिम विकेटका रूपमा मौसम ढकाललाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई आयरल्यान्डका बलर हमफ्रेयसले बोल्ड गरेका थिए । कमलसिंह ऐरी भने शून्य रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका ओपनर ब्याट्सम्यान जेम्स म्याकुलुमलाई साहब आलमले रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका थिए । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो ।

आयरल्यान्डले दोस्रो विकेट साहब आलमले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको थियो ।

आयरल्यान्डको तेस्रो विकेट रिजन ढकालले लिएका हुन् । रिजनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई मौसम ढकालद्वारा क्याच गराएका थिए । पिटरले पेभेलियन फर्किनुअघि १७ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएका थिए । छैटौँ ओभरको अन्तिम बलमा पिटर आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डका अर्का ब्याट्सम्यान मोर्गन टपिङ पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोर्गनलाई दुई रनको व्यक्तिगत स्कोरमा साहब आलमले कप्तान विनोद भण्डारीद्वारा क्याच गराएका थिए । ६.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो । साहब आलमले लिएको यो दोस्रो विकेट थियो ।

यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृङ्खलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।

आयरल्यान्डको पाँचौँ विकेट पनि साहब आलमले नै लिएका थिए । उनले आयरल्यान्डका छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई भीम सार्कीद्वारा क्याच गराएका थिए । डेलानीले खातासम्म खोल्न सकेनन् । साहब आलमले लिएको यो तेस्रो विकेट थियो । नवौँ ओभरको अन्तिम बलमा डेलानी आउट हुँदा आयरल्यान्डले केवल ३४ रन बनाएको थियो ।

आयरल्यान्डको छैटौँ विकेट मौसम ढकालले लिएका थिए । उनले आयरल्यान्डका सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १३.४ ओभरमा फियोन आउट हुँदा आयरल्यान्डले केवल ५० रन बनाएको थियो ।

आयरल्यान्डको सातौँ विकेट कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्डका कप्तान निल रकलाई बसिर अहमदद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निल रकले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

निल रकले टोली अप्ठ्यारो स्थितिमा रहँदा ४५ रन बनाएका थिए । यस क्रममा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । २०.३ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले ९४ रन बनाएको थियो ।

आयरल्यान्डको आठौँ विकेट रिजन ढकालले लिएका थिए । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान गाभिन होएलाई परिवर्तित खेलाडी रुपेश सिंहद्वारा क्याच गराएका थिए । रिजन ढकालले लिएको यो दोस्रो विकेट हो ।

गोभिन होएले आयरल्यान्डका लागि महत्वपूर्ण पाली खेलेका थिए । पेभेलियन फर्किनुअघि उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाएका थिए । ३२औँ ओभरको अन्तिम बलमा गाभिन होए आउट हुँदा आयरल्यान्डले एक सय ४८ रन बनाएको थियो ।

आयरल्यान्डको नवौँ विकेट पनि रिजन ढकालले नै लिएका थिए । उनले आयरल्यान्डका दशौँ नम्बरका ब्याट्सम्यान थोमस मोएसलाई पाँच रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । रिजन ढकालले लिएको यो तेस्रो विकेट हो । ३५.४ ओभरमा थोमस आउट हुँदा आयरल्यान्डले एक सय ६० रन बनाएको थियो ।

आयरल्यान्डको अन्तिम विकेट मौसम ढकालले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का लियाम म्याकार्थीलाई बसिर अहमदद्वारा क्याच गराएका थिए । लियामले पेभेलियन फर्किनुअघि ५४ बलमा तीन चौकाको मद्दतले ३५ रन बनाएका थिए । आयरल्यान्डमा म्याथ्यू हमफ्रेयस दुई रनमा अविजित रहे ।

नेपाल र आयरल्यान्डबिच खेलवटा खेलको एकदिवसीय शृंखला खेलिने छ । तेस्रो एकदिवसीय खेल भने आइतबार खेलिने छ । यसअघि खेलिएको तीनवटा खेलको टी–२० शृङ्खलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप