शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले विश्व ध्यान दिवसको प्रस्ताव राष्ट्रसंघमा लैजाने

शुक्रबार, २३ चैत २०८०, १६ : ५६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने तयारी गरिरहेको छ । यसअघि भारतको अगुवाइमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा भइसकेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकृत गरिसकेको छ । जस अनुसार प्रत्येक जुन २१ का दिन योग दिवस मनाउने गरिन्छ ।

अब नेपालले आफ्नो पहलमा अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पठाउने गृहकार्य थालेको छ । शुक्रबार त्यसैको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको उपलक्ष्यमा चीनले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान दिवस कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको पहलमा अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने गृहकार्य भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गरेर हुँदैन, संयुक्त राष्ट्रसंघले घोषणा गर्नुपर्छ । त्यसका लागि मैले गृहकार्य थालिसकेको छु ।’ गत कात्तिक १२ गते नेपालमा भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आफूले प्रस्ताव राखेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

लुम्बिनी भ्रमण गरेर काठमाडौँ फर्केपछि महासचिव गुटेरेससँग भेट हुँदा ‘बुद्धको जन्मथलोबाट आउनु भएको छ, त्यसको महत्त्वको आधारमा अन्तर्राष्ट्रिय ध्यान दिवसका लागि नेपालले प्रस्ताव लैजाने तयारी गरिरहेको छ । यसमा तपाईंको सहयोग चाहिएको’ भनेर आफूले भनेको उनले बताए ।

‘हामीले पर्सनली उच्च तहमा छलफल गरिरहेका छौँ, शान्ति सम्बन्धी योगदानलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय ध्यान दिवसको प्रस्ताव तयार गरिरहेका छौँ । सो प्रस्ताव युएनमा लग्यौँ भने त्यसमा तपाईले सहयोग गर्नुपर्छ भनेर मैले महासचिव समक्ष कुरा राखेको छु,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘मैले राखेको प्रस्तावमा महासचिव गुटेरेसले सकारात्मक रेस्पोन्स दिनुभएको छ ।’

अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बरमा पारित भएको थियो । त्यसपछि २०१५ देखि प्रत्येक जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी योग दिवस मनाउने गरिएको छ । नेपालस्थित भारतीय दूतावासले पनि नेपालमा विश्व योग दिवसका अवसरमा कार्यक्रम आयोजना गर्दछ । गत जुनमा पोखरामा भारतीय दूतावासले आयोजना गरेको योग दिवस कार्यक्रममा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

योग र साधनाको प्रतीक गौतम बुद्धको जन्म नेपालमा भएको हो । त्यही भएर नेपालले नै उपयुक्त समय तोकेर अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गराउने सरकारको तयारी छ ।

पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछानेले विश्व ध्यान दिवस मनाउन आवश्यक तयारी गरिरहेको बताए । उनले भने, ‘योगा र ध्यान फरकफरक विषय हो । हामीले लुम्बिनीलाई ध्यानको हब बनाउन लागेका छौँ र त्यसका लागि अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने तयारी भइरहेको छ ।’

सरकारले यसको प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले यो प्रस्ताव युएनको महासभामा लैजाने तयारी भइरहेको बताए । लुम्बिनीमा अप्रिल ५ का दिन ध्यान दिवसको सुरुवात गरिएको बताउँदै उनले यही दिनलाई प्रस्ताव गर्न सकिने पनि बताए । छलफल गरी अर्को कुनै दिनलाई ध्यान दिवसका रुपमा प्रस्ताव गर्न पनि सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप