बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तीन मन्त्रालयसँग छलफल

आइतबार, २५ चैत २०८०, १५ : १३
आइतबार, २५ चैत २०८०

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा तीन वटा मन्त्रालयसँग छलफल गरेको छ । समितिले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषय एवं दफाहरूका सम्बन्धमा छलफल गरेको हो । 

छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूको उपस्थिति रहेको थियो । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित रहेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ४७ मा रहेको वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन र दफा ६० मा रहेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा संशोधनको सन्दर्भमा सांसदहरूले राखेको संशोधन प्रस्ताव स्वीकार गरिएको छ । मन्त्री डोलप्रसाद अर्यालले दुवै दफाहरूमा सांसदहरूले राखेको संशोधन प्रस्ताव स्वीकार गरिएको बताए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफा २० मा रहेको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन, दफा २१ मा रहेको प्रेस काउन्सिल ऐन, २०४८ मा संशोधन र दफा ७३ मा रहेको विज्ञापन(नियमन गर्ने) ऐन, २०७६ मा संशोधनको सम्बन्धमा सांसदहरूले राखेको संशोधनका बारेमा पनि छलफल भएको थियो । छलफलमा बोल्दै मन्त्री रेखा शर्माले सरकारले मिडिया काउन्सिल विधेयक ल्याउने तयारी गरिरहेको र सोही विधेयकले नै यी दफाहरूसँग सम्बन्धित कुराहरूको सम्बोधन गर्ने भन्दै कुनै निर्णय गर्नु आवश्यक नभएको बताइन् ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित दफा ४५ को नेपाल कानुन आयोग ऐन, २०६३ मा संशोधन, दफा ५७ को न्याय सेवा आयोग ऐन, २०७३ मा संशोधन र दफा ६९ को प्रशासकीय अदालत ऐन, २०७६ मा संशोधनमा सरकारले ल्याएको प्रावधानलाई नै पारित गरिएको छ । त्यस्तै, कानुन मन्त्रालयसँग नै सम्बन्धित दफा ६४ मा रहेको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधनको सम्बन्धमा भने समितिको आगामी बैठकमा छलफल गरिने भएको छ ।

समितिको आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूमाथि छलफल हुने कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन् । आइतबार यी मन्त्रालयसँग सम्बन्धित दफाहरूमा पनि छलफल हुने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएको कारण कार्यसूची अगाडि बढ्न नसकेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप