मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वासन्ती नवरात्र प्रारम्भ : मिथिलामा गुञ्जदै देवीका भजन

मङ्गलबार, २७ चैत २०८०, १० : २७
मङ्गलबार, २७ चैत २०८०

महोत्तरी । मधेसका  महोत्तरीसहितका मिथिला क्षेत्रमा वासन्ती नवरात्रको प्रारम्भसँगै आदिशक्ति देवीका भजन गुञ्जन थालेको छभने शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ । 

चैत शुक्ल परेवासँगै आजदेखि प्रारम्भ वासन्ती नवरात्रमा मिथिलाका  शक्तिपीठमा नवदुर्गा भवानीको पूजाअर्चनासँगै देवी भजन गुञ्जेको हो । नवरात्रको पहिलो दिन आज शक्तिपीठहरूमा कलश स्थापना गरेर जमरा राखिँदै छ । वासन्ती नवरात्र प्रारम्भसँगै मिथिलाका शक्तिपीठमा दर्शनार्थी पनि बढेका छन् ।

हिन्दू–मैथिल परम्परामा वर्षमा दुईपटक दसैँ मनाइन्छ । असोज शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल परेवादेखि नवमीसम्म वासन्ती नवरात्र मान्ने परम्परा छ । दुवै नवरात्रमा देवी पूजनका समान विधि भए पनि शारदीय नवरात्रमा असोज शुक्लपक्षभरि नै दसैँपर्व मनाइन्छ । नवरात्रको अन्तिम दिन नवमीमा देवी पूजन सकेर दशमीका दिन देवी विसर्जन गर्दै प्रसादस्वरुप मान्यजनबाट टीका जमरा लगाउने चलन छ तर वासन्ती नवरात्रमा भने नवमीका दिन नै दसैँ सम्पन्न गरिन्छ ।

मिथिलामा चैत शुक्लपक्षको नवरात्रभित्रै वासन्ती छठको परम्परा छ । छठ पनि वर्षमा शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने शारदीय छठकै विधि जसरी चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म वासन्ती छठ मनाउने हिन्दू मैथिल परम्परा छ । वासन्ती नवरात्रको अन्तिम दिन नवमी तिथि हिन्दू परम्पराका आराध्य देव श्रीरामको जन्म भएको विश्वास गरिन्छ । मिथिलासँग श्रीरामको वैवाहिक सम्बन्धले यहाँ यो पर्व अर्थात् रामनवमी (चैत शुक्ल नवमी) विशेष रूपमा मानिन्छ ।

वासन्ती नवरात्रमा पनि शारदीयजस्तै कन्या कुमारी (अविवाहित किशोरी)ले धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका  पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।  

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१  स्थित सन्सारी माई र राजदेवी मन्दिरमा आज कुमारी कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेको जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याएका छन् ।

यसैगरी मधेसका प्राचीन मिथिला क्षेत्रका सप्तरी जिल्लाका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् । यी सबै शक्तिपीठमा नवरात्र प्रारम्भसँगै चण्डीपाठ पनि प्रारम्भ भएको छ । हिन्दू परम्पराका सबै मैथिल परिवारमा देवीको पूजाअर्चनासहित चण्डीपाठ गर्ने परम्परा छ । यसपटक वासन्ती नवरात्रभित्रै नयाँ वर्ष (२०८१) प्रारम्भ हुने हुँदा यस अवसरमा जुडशीतल पर्व पनि मनाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप