बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ६ हजार व्यक्तिले ध्यान गर्दा...

बुधबार, २८ चैत २०८०, ०९ : २२
बुधबार, २८ चैत २०८०

यही  चैत १७ गते देखि २३ गतेसम्म जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित विराट् चक्र विज्ञान कार्यक्रम भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सम्पन्न भयो । जसमा ६ हजारभन्दा बढीको सहभागिता हुन पुग्यो । 

भनिन्छ, एक जनाले ध्यान गर्दा एक ऊर्जा उत्पन्न हुन्छ भने दुई जनाले गर्दा चार ऊर्जा र १० जनाले गर्दा सय ऊर्जा उत्पन्न हुन जान्छ । यस हिसाबले ६ हजार गुना ६ हजार गर्दा तीन करोड ६० लाख ऊर्जा उत्पन्न हुने मान्न सकियो । 

यस चक्र विज्ञान कार्यक्रममा सहभागी हुनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयको परिपत्र जिल्ला जिल्लामा पुगेको थियो । कति कार्यालयले कर्मचारी पठाउन सके, कतिले सकेनन् । सबै पालिका, वडाहरूमा र कार्यालयहरूमा जहाँ जहाँ पत्र पुग्यो, ती पत्र देख्ने–सुन्ने सबैको भाव तरङ्गित भएर कार्यक्रम स्थलमा पुग्यो र साधना गरिरहेकाहरूको भाव गङ्गामा नै मिसियो । 

यसैगरी देश र विदेशमा रूपमा तथा जुमका माध्यमले सञ्चालन भइरहेका जीवन विज्ञानका भौतिक धेरै प्रयोगशाला छन् । कार्यक्रममा सबैजना सहभागी हुन सक्ने कुरा भएन, तर ती सात दिनमा तिनको पनि भाव त्यहाँ पुग्यो । नेपालमा रहेका आफन्तले कार्यक्रममा भाग लिन गएपछि विदेशमा रहेका छोराछोरी तथा आफन्तको ध्यान तरङ्ग पनि कार्यक्रम स्थलमा पुग्यो । 

यस्तै, परिवारको एकजना सदस्य कार्यक्रममा सहभागी हुन लुम्बिनी गएको छ भने परिवारका सबैको ध्यान त्यहाँ पुग्यो । जसले यसबारे सूचना पढे, समाचार पढे, फेसबुक र अन्य सामाजिक सञ्जालमा लेखे, देखे, सुने, उनीहरू सबैको ध्यान त्यतै तानियो । 

छोटकरीमा भन्नुपर्दा ती सात दिनमा जसले विराट् चक्र विज्ञानका बारेमा सम्झना गर्‍यो, त्यसको भावरेखा लुम्बिनी पुग्यो । त्यतिबेला यो धर्तीको आकाशमा चक्रको रङका रेखाहरू एक आपसमा जेलिए । स्पष्ट भन्नुपर्दा यो भाव तरङ्गले धर्तीलाई फनफनी जेल्यो ।

सात दिनसम्म एकै स्थानमा यति धेरै व्यक्ति बसेर ध्यान गरेको कुरा विश्वको इतिहासमा नाम लेखिने भयो । यस कार्यले नेपाल परापूर्व कालदेखि ध्यानीहरूको थलो हो र अब पनि ऊबाहेक अरू छैन भन्ने कुराले नेपाल विश्वमा पुनः परिचित हुने मौका मिल्यो । हरेक नेपालीले र नेपालीको माध्यमबाट विश्व समुदायले ध्यानमार्फत लाभ लिन सक्छन् भने हाम्रो कार्यको सार्थकता रहन्छ । 

यस भाव तरङ्गलाई निरन्तरता र स्थायित्व प्रदान गर्ने शक्ति मुख्यतयाः कार्यक्रममा भौतिक रूपमा सहभागी हुने हामी सबैको हातमा छ । उक्त सात दिनमा हामीले गुरुवरद्वयबाट चक्र साधनाको ध्यान विधि पाएका छौँ र गर्ने तरिका पनि सिकेका छौँ । ती दिनमा हामीले चक्रका नाम, काम, रङ, स्वर मन्त्र लगायत धेरै कुरा सुनेका मात्र छौँ । त्यसको अनुभूति कोही कसैलाई भए पनि सबैलाई पक्कै भएको छैन होला । त्यसैले हामीले पाएको विधिलाई दृढताका साथ अभ्यास गरेनौँ भने त्यो सात दिन सिकेका कुरा शाब्दिक सूचना मात्र हुन्छन्— हाम्रो सूक्ष्म शरीरमा रहेका सात चक्र छन् रे, यी चक्र शरीरका शक्ति केन्द्र हुन् रे भन्ने ‘रे–रे’मा मात्र सीमित रहन्छ । 

सकारात्मक भाव सिर्जना गर्ने छोटो मन्त्रलाई हरेक बिहान–बेलुका जपौँ । त्यो मन्त्र हो– ‘म खुसी छु ।’ सुत्ने बेलामा श्वासभित्र जाँदा ‘म’, श्वास बाहिर जाँदा ‘खुसी छु’ २१ पटक मनमनै भन्ने । यसैगरी ‘म स्वस्थ छु’ र ‘म शान्त छु’ पनि २१–२१ पटक भन्ने र शान्त भावमा निदाउने ।

चक्रको कामको पूर्ण आभास हुन समय लाग्ला, तर सातै चक्रको घुमाइ र आँखा बन्द गर्दा देखिने तिनको रङ भने पहिलो चरणमै अनुभूति गर्न सकिन्छ । यसपछि मात्र हामीलाई चक्रप्रति दृढ विश्वास पैदा हुन्छ । यसअघि नसुन्नु, नजान्नु अलग कुरा हो । सुनेपछि र हो रहेछ भन्ने जानेपछि पनि त्यसलाई अनुभूति नगरी छाड्नु भनेको आफैँले आफैँलाई धोका दिनु हो । 

हरेक चक्र सक्रिय बनाउने विधि र तरिका सिकेपछि आफूलाई सबल बनाउन आफैँ लाग्यौँ । आफ्ना लागि आफैँले खानुपर्छ भनेजस्तै आफ्नो उन्नति आफैँले गर्ने हो । नित्य साधनाबाट चक्र अनुभूति गरेरै छाडौँ । तिनको सबलताले गर्ने काम स्वतः भइहाल्छ । आगोमा हात जानेर हाले पनि पोल्छ, नजानेर हाले पनि पोल्छ भनेजस्तै हो । सबल चक्रले गर्ने काम जीवनमा हुँदै जान्छ । 

सबैभन्दा ठुलो शक्ति भावशक्ति रहेछ भन्ने कुरा हामीलाई स्पष्ट भएको छ । दिइएको विधिलाई अभ्यास निरन्तर गरौँ । यसैगरी सकारात्मक भाव सिर्जना गर्ने छोटो मन्त्रलाई हरेक बिहान–बेलुका जपौँ । त्यो मन्त्र हो– ‘म खुसी छु ।’ सुत्ने बेलामा श्वासभित्र जाँदा ‘म’, श्वास बाहिर जाँदा ‘खुसी छु’ २१ पटक मनमनै भन्ने । यसैगरी ‘म स्वस्थ छु’ र ‘म शान्त छु’ पनि २१–२१ पटक भन्ने र शान्त भावमा निदाउने । यही बेला ब्रह्माण्डीय ऊर्जा प्राप्त भई हरेक रात पूर्ण रिचार्ज हुन्छौँ । 

यसैगरी बिहान बिउँझिएपछि २१–२१ पटक नै पहिला ‘म शान्त छु’, दोस्रोमा ‘म स्वस्थ छु’, तेस्रोमा ‘म खुसी छु’ भन्ने मन्त्रलाई जपेर खुसी भावमा उठ्ने गरौँ । उठ्दै खुसी भएर उठेपछि जुन काम पनि दिनभर रमाएर गर्न सकिन्छ । यस मन्त्रलाई लुम्बिनी जागरण उत्सवका दिन सबैलाई छोटो ध्यानका रूपमा प्रयोग गरिएको पनि थियो ।  

यसरी शान्त भएर सुत्ने र खुसी भएर उठ्ने गर्न सकियो भने दैनिक जीवनमा जुनसुकै काम गर्दा पनि सफलता हात लाग्दै जान्छ । यस पृथ्वीको आकाश ढाकेको ऊर्जाको तरङ्ग र हामीभित्रको महाआकाशमा रहेको भावतरङ्ग जोडिएर एक भएपछि ऊर्जावान् ब्रह्माण्डको निर्माण हुन्छ । सुख शान्ति र समृद्धि स्वतः आइहाल्छ । 

नेपाल यतिबेला ध्यानको भावभूमिमा उपलब्ध भएको छ । हाम्रा सातै चक्र जगाऊँ । स्वस्थ, ध्यानी, ज्ञानी र कर्मयोगी बन्दै मनुष्य हुनुको सार्थकतालाई बुझौँ । अनि अरूलाई पनि काम लाग्ने विश्व मानव बन्न सकौँ ।      

(लेखक जीवन विज्ञान प्रतिष्ठानमा प्रशिक्षक छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप