बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कप क्रिकेट : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज कतारको सामना गर्दै

शनिबार, ०१ वैशाख २०८१, १० : ०४
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो । 

जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । 

प्रतियोगिताको पहिलो दिन शुक्रबार नै खेलिएको अर्को खेलमा भने हङ्कङले कतारलाई २६ रनले हराएको थियो । समूह ‘ए’ मा दुई अंकसहित हङ्कङ पहिलो र समान अंक बटुलेको नेपाल दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा नेपालभन्दा हङ्कङ अगाडि छ ।

हालसम्म एक खेल पनि नखेलेको साउदी अरेबिया तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमै पराजित भएका मलेसिया र कतार क्रमशः चौथो र पाँचौँ स्थानमा आसिन छन् । शनिबारको दोस्रो खेल साउदी अरेबिया र मलेसियाबिच खेलिँदै छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा भने पहिलो दिन आयोजक ओमानले बहराइनमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । अर्को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कुवेतलाई सात विकेटले हराएको थियो । समूह ‘बी’ मा शनिबार कम्बोडियाले कुवेत र बहराइनले यूएईको सामना गर्दै छन् ।

वैशाख ९ गतेसम्म चल्ने प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ ।

अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरुले गतिलो प्रदर्शन गरेका थिए ।

एसीसी प्रिमियर कपको यो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूण छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी-२० ढाँचामा खेलाइँदै छ ।

त्यसैले एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्‍याउने छ । आगामी टी-२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी(२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी-२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । नेपालले अप्रिल १५ तारिखमा आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप