बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

लगातार तेस्रो जितको खोजीमा नेपाल, आज हङ्कङको सामना गर्दै

सोमबार, ०३ वैशाख २०८१, ०७ : ०६
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो ।

जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले शनिबार खेलिएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

कतारविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पाली खेलेका थिए । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

dipendra singh airee 2

नेपालका लागि दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल २१ बलमा अविजित ६४ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा कतारका बलर कमरान खानको बलमा लगातार ६ वटा छक्का हिर्काएका थिए ।

पुरुष टी–२० क्रिकेटको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने उनी नेपालका एकमात्र ब्याट्सम्यान हुन् । विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी केवल तेस्रो खेलाडी हुन् । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युवराज सिंह र केइरन पोलार्डले यस्तो उपलब्धि हासिल गरेका थिए ।

भारतका युवराज सिंहले सन् २००७ को आईसीसी टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध र वेस्ट इन्डिजका केइरन पोलार्डले सन् २०२१ मा खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए ।

dipendra singh airee

कतारविरुद्धको खेलमा दीपेन्द्रले दुई विकेट पनि लिएका थिए । दीपेन्द्रका अतिरिक्त नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतकीय पाली खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए ।

जारी एसीसी प्रिमियर कपमा नेपाल दुई खेलबाट चार अङ्क बटुल्दै समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलबाट दुई अङ्क जोडेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यसैगरी दुई खेलबाट दुई अङ्क बटुलेको मलेसिया तेस्रो स्थानमा छ । दुई खेलबाट दुई अङ्क हात पारेको हङ्कङ भने चौथो स्थानमा झरेको छ । हङ्कङ आफ्नो पछिल्लो खेलमा आइतबार साउदी अरेबियासँग ५५ रनले हारेको थियो ।

यसैगरी दुई खेल खेलेको कतारले भने हालसम्म अङ्क बटुल्न सकेको छैन । प्रतियोगिताअन्तर्गत सोमबार नै समूह ‘ए’ को अर्को खेल मलेसिया र कतारबिच खेलिने छ । सोही दिन समूह ‘बी’ मा रहेका ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) तथा कुवेत र बहराइन आपसमा भिड्ने छन् ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

436499644_845848850904830_8116501000055063246_n (1)

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरूले गतिलो प्रदर्शन गरेका थिए ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण रहेको छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइँदै छ ।

437858668_845244474298601_7938222364284568031_n

त्यसैले एसीसी प्रिमियर कपको दोस्रो संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्‍याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक प्रिमियर कपको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र यूएई रहेका छन् । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्नेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप