शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

दीपेश पुनको बयान : सुप्रिमको सचिवबाट २०७६ मै राजीनामा दिएको हुँ

३ लाख बुझेको पेस्की भौचरको हस्ताक्षर मेरो होइन
सोमबार, ०३ वैशाख २०८१, २२ : १९
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा थुनामा रहेका विद्यार्थी नेता दीपेशकुमार पुनले आफूले सहकारीका सचिव पदबाट पहिले नै राजीनामा दिएको बयान दिएका छन् । आफूले थाहै नपाई सचिव बनाएको जिकिर गर्दै उनले बयानमा भनेका छन्– ‘मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्था प्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ ।’

अनुसन्धानको क्रममा उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्कीबापत ३ लाख लिएको भेटिएको छ । तर, पुनले पेस्की भौचरमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्– ‘पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दिपेशकुमाार पुन भएको हुँदा नाम समेत फरक छ ।’ पूर्व उपराष्ट्रपतिका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारीको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको छ ।

अनुसन्धानको क्रममा पुनले दिएको बयान यस्तो छ :  

म बाल्यकाल देखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु । देशमा राजनीतिक परिवर्तनसँगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र)को बारेमा अध्ययन गरेको थिएँ ।

सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रूपमा आत्मसात् गर्दै नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामीण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको अािर्थक जीवनस्तर वृद्धि गर्दै जनतालाई आत्मनिर्भर उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तनका लागि सहकारीले सहयोग पुर्याउन सक्छ, यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनुपर्छ, यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो ।

यसैक्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रुपमा बोलाइएको थियो । उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोहीअनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिए भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारिक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजीवीहरू तथा पत्रकारहरू लगायत साधारण सभामा उपस्थित सरोकारवालाहरू उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा मैले जाने बुझे सम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिए । म अन्य कार्यक्रममा उपस्थित हुनका लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिस्टरमा हस्ताक्षर गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिस्टारमा हस्ताक्षर गरी बिदा भई निस्केको हुँ, मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन ।

म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियतमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिस्टरमा हस्ताक्षर गरेको सम्म मलाई याद  छ अन्य कुरा मलाई याद भएन ।

सचिवको वा अन्य के कसोमा हस्ताक्षर  देखिएको हो मलाई याद भएन । कार्यक्रम सकिएको करिब २ महिनापछि संस्थाका कर्मचारीले मलाई फोन गरी तपाईँको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाउँ तपाईंको आफन्तहरू पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षणको रूपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी ) राईले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौं भन्ने जानकारी गराएका थिए ।

मैले गितेद्रबावु राई र अन्य परिवार र साथीभाईहरुसँग सल्लाह गरी खबर गर्राैंला भनेको थिएँ, उक्त खबर पाएपश्चात् मैले गितेन्द्रबाबु राईसँग यो विषयमा कुरा गर्नका लागि धेरैपटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन र मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रूपमा नाम राखी पठाएका छन् भन्ने जानकारी पाएपश्चात् मैले परिवार र साथी भाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाई राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईंलाई रुपन्देहीका स्थायी बासिन्दा पनि होइन र तपाईं कानूननत रुपन्देहीमा रहेको सहरकारीमा सञ्चालक समिति हुन मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्था प्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ । मैले राजीनामा बुझाएको केही महिनापछि कोभिड–१९ को कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन ।

कोभिड–१९ को बिचमा संसगका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईँको राजीनामा भइसकेको छ, कोभिड–१९ को कारणले गर्दा सञ्चालक र कर्मचारीसँग भौतिक भेट भएको छैन तपाईंको राजीनामा जुन दिन साधारणसभा हुन्छ सोही दिन तपाईंले राजीनामा दिएको मिति देखिनै स्वीकृत हुनेगरी अनुमोदन हुन्छ तपाईंको यसमा कुनै आर्थिक र कानुनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौ) तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नुभएको छैन र तपाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नुभएको छैन, पिर नगर्नुहोस् भनेका थिए  सो पश्चात् मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिन ।

पछि मेरो राजीनामा साधारणसभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए । मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम र ३ लाख लिएको होइन । उक्त पेस्की भौचरमा बुझि लिनेमा भएको दस्तखत मेरो होइन भने पेस्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दिपेशकुमाार पुन भएको हुँदा नाम समेत फरक छ ।

मैले कुनै शेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन । मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मैले लिएको पनि छैन । यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारिस, कारोबार तथा निर्णय गरेको छैन र यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनीहरूसँग म व्यापारिक साझेदार समेत छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप