मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन

मङ्गलबार, ०४ वैशाख २०८१, १४ : ३०
मङ्गलबार, ०४ वैशाख २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो । 

सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए । उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा एक वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ । 

त्यस्तै शीतल माध्यमिक विद्यालय फक्रैया, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, सूर्योदय माध्यमिक विद्यालय बेल्टापु र जनज्योति माध्यमिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा झारिएको छ । 

अन्य चारवटा माध्यमिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ । ती विद्यालयमा भेरी दोभान माध्यमिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट छन् । 

भेरी दोभानमा माविमा कक्षा १२ सम्म र अन्य तीन वटा विद्यालयमा १० कक्षा सम्म पढाइ सञ्चालन हुने गरेको थियो । अब भने कक्षा ८ सम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिए । त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाइ सञ्चालन भएका चार वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ । 

पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपासिंह विष्टले जानकारी दिए । उनका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबिचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप