मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै

बुधबार, ०५ वैशाख २०८१, ०६ : २२
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

बुधबार नै समूह ‘ए’ को अर्को खेलमा मलेसिया र हङ्कङबिच खेलिने छ । त्यो खेल पनि बिहान ११ः४५ बजे नै सुरु हुनेछ । नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन् ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

ACC Mens Premier Cup

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप