बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

रविबारे बदलिँदै एमालेको बोली, एमाले–कांग्रेस सत्ता सहकार्य कति सम्भव ?

बुधबार, ०५ वैशाख २०८१, १९ : ३५
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे सत्ता गठबन्धनकै नेताहरूले आशंका व्यक्त गर्न थालेका छन् । प्रदेश सरकार निर्माणमा गठबन्धनमा देखिएको मतभेद र गृहमन्त्री रवि लामिछानेबारे उठेको सहकारीको विषयले सरकारको भविष्य अनिश्चित बनेको हो । सत्ता साझेदार एकीकृत समाजवादीले सरकारलाई चुनौती दिइरहेका बेला प्रमुख सत्ता गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट समेत सरकारको आयुबारे संशय प्रकट भएको छ ।

मंगलबार गृह जिल्ला झापामा ओलीले सत्ता समीकरण ढाल्न षड्यन्त्र भइरहेको भन्दै समीकरण भत्किए अफ्ठ्यारो नमाग्न कार्यकर्तालाई भनेका थिए । ‘अहिले यो समीकरण ढाल्नको लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन्, केही घटना घटिहाल्यो भने साथीहरूले अफ्ठ्यारो नमान्नुहोला, लौ बरबाद भयो भनेर, केही हुँदैन ,’ ओलीको भनाइ थियो ।

यता सहकारी ठगी विवादमा मुछिएका गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे एमालेको फेरिएको बोली पनि अर्थपूर्ण छ । फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वापसहितको नयाँ गठबन्धन बनेपछि रास्वपाका नेताहरू भन्दा पनि अघि बढेर एमालेका नेताहरूले लामिछानेको बचाउन गर्दै आएका थिए । तर, बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको आरोपपत्रमा लामिछानेले सो सहकारीबाट २ करोड ऋण लिएको तथ्य—प्रमाण देखिएपनि प्रतिवादी नबनाइएकोमा चौतर्फी प्रश्न उठेकै बेला एमालेको पनि बोली फेरिएको देखिएको हो ।  

नयाँ गठबन्धन बनेर लामिछाने गृहमन्त्री भएपछि विपक्षी कांग्रेसले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेको थियो, छ । सो मागमा कांग्रेसले संसद् नै अवरुद्ध पारेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएका थिए । लामिछानेमाथि छानबिनको माग राखेर कांग्रेसले सत्ताबाट बाहिरिनु पर्दाको पीडा पोखेको ओलीको तर्क थियो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले र रास्वपाको संयुक्त बैठक बेलाएर संसद् अवरोधको निकास खोज्ने प्रयास गर्दा ओली संसदीय छानबिन समितिको विपक्षमा कडा रूपले प्रस्तुत हुँदा छलफल विनानिष्कर्ष टुंगिएको थियो । लामिछानेलाई कांग्रेसले बदनाम गर्न खोजेको भन्दै ओलीले उनी निर्दोष रहेको ठोकुवा गरेका थिए । सत्ता समीकरणमा लामिछानेले साथ नदिएपछि उनलाई बदनाम गरी फसाउने काममा कांग्रेस लागेको ओलीको आरोप थियो । ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खालि हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि,’ उनको बचाउ थियो ।

पछिल्लो समय हरेक मञ्चमा लामिछानेको बचाउमा उत्रिने ओली मंगलबार झापामा रविको बचाउमा खासै उत्रिएनन् । बरु उनले केही सहकारीले राम्रो काम गरे पनि केही मान्छेले सहकारीलाई ठगी खाने ठाउँ बनाएको टिप्पणी गरेका थिए । ‘केही सहकारीहरू केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। त्यस्ता व्यक्तिहरू सहकारीमा पसेर सहकारीको बदनाम गरिरहेका छ,’ ओलीको भनाइ थियो ।

यहीबिचमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले लामिछानेमाथि राजनीतिक आवरणमा ढाकछोप गर्न नहुने पक्षमा पार्टी उभिएको बताएका छन् । ‘सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने एकपछि विवादमा तानिनु भएको छ । यो दुखद कुरा हो । सहकारीबाट नागरिकहरू ठगिएका छन् । पीडितले न्याय पाउनुपर्छ,’ उनले रातोपाटीसँग मंगलबार भनेका छन् । बदमासी र ठगी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने एमालेको स्थायी मान्यता भएको उनको तर्क छ ।

‘अनुसन्धानको प्रक्रियालाई जुनसुकै पद प्रतिष्ठामा बसेकाहरू भए पनि प्रभावित गर्ने काम गर्नुहुँदैन । हामी विश्वासको आधारमा सहयात्रामा छौँ,’ बर्तौलाले भने, ‘तर, कानुनले वर्जित गरेका कुनै पनि घटना, दोष या आरोपहरू छन् भने हामी स्वीकार गर्न सक्दैनौँ । गृहमन्त्री वा सरकारमा भएका कारण राजनीतिक ढाकछोप  हामीलाई मान्य छैन ।’

एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । मंगलबार रिपोर्टस क्लबमा पोखरेलले मिडियामा आएका तथ्यसहितका समाचारबारे लामिछानेले बोल्नुपर्ने बताएका थिए । सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने पोखरेलको भनाइ छ । उनले भने, ‘सहकारी ठगी प्रकरणमा जोसुकै संलग्न भए पनि यो सहकारी ठगी प्रकरणमा को–को संलग्न भएका छन्, जोसुकै संलग्न भएको भएपनि, मेरो गृहमन्त्री र मुलुकको गृहमन्त्री रविजी यदि आज पत्रिकामा आएकोजस्तै उहाँले डेढ करोड भुक्तानी लिएको र कारोबार गरेको हो भने उहाँले अब दुनियाँलाई ढाँट्नुहुँदैन ।’ गृहमन्त्री लामिछानेको बदनामी र बदमासीको भारी एमालेले नबोक्न पोखरेलले बताए ।

लामिछानेबारे एमालेका नेताहरूको फेरिएको बोलीलाई कांग्रेसले चासोका साथ नियालिराखेको छ । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार निर्माणले देखिएको विश्वासको संकट र गृहमन्त्री लामिछानेको सहकारी प्रकरणले गठबन्धन धेरै लामो नटिक्ने कांग्रेसको बुझाइ छ । यस्तै कांग्रेसले लामिछानेले राजीनामा दिनुपर्ने बताउन थालेको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग नियमित संवादमा छन् । ‘माधव नेपालजी र हाम्रो सभापतिबिच नियमित संवाद भइरहेको छ । रविजीको बदमासीको भारी प्रचण्डजी र ओलीजीले धेरै दिन बोक्न सक्दैन । त्यसपछि नयाँ कोर्स अगाडि बढ्छ,’ उनले भने ।

यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनकै कारण सरकार ढल्ने दिशामा पुगेको दाबी गरे ।  ‘सरकारलाई कांग्रेसले ढाल्न पर्दैन आफै ढल्छ । गठबन्धन भित्र नै एक खालको अविश्वास र समस्या पैदा भएको छ । यो समस्याले कस्तो गति लिन्छ ? हामी हेरेर बसिहरेका छौँ ,’ उनले भने ।

सत्ता गठबन्धनमा आएको असन्तुलनलाई कांग्रेसले गम्भीरतापूर्वक हेरिरहेका उनको भनाइ थियो ।

कांग्रेस र एमाले छलफलमा

राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने मत दुवै पार्टीमा जबरजस्त सुनिन्छ । एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्व पोखरेल कांग्रेससँगको सत्ता सहकार्य मुलुकको हितमा हुने मत राख्छन् ।

‘म त हिजोदेखि नै त्यही पक्षमा हो । निर्वाचनको परिणाम लगत्तै पहल सुरु गरेको पनि हो तर कांग्रेस अर्कै धुनमा थियो हामीले मात्र चाहेर भएन,’ पोखरेलले रातोपाटीसँग भने, ‘जसले दुर्भाग्य निम्तियो । अहिले वर्तमान गठबन्धन अगाडि जान्छ । तर, उपयुक्त समयमा मुख्य दलहरू (कांग्रेस–एमाले)बिच सहकार्य गरेर जानु मुलुकको हितमा हुन्छ ।’

एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पनि कांग्रेससँग मिलेर साना दलले थाप्ने सत्ताको च्याँखेदाउ बन्द गर्नुपर्ने बताउँछन् । ‘प्रमुख दल मिलेर एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ,’ उनको भनाइ छ ।

फागुन २१ मा सत्ता विमुख भएपछि कांग्रेस एमालेसँग सत्ता सहकार्य गर्ने विषयमा एकमत देखिन्छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र रेमश लेखकले एमालेसँग सत्ता सहकार्यका लागि लबिङ गर्दै आएका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि निरन्तर छलफल भइरहेको आफूहरूलाई सूचना आएको बताए ।  ‘सत्ताबाट बाहिरिएपछि कांग्रेसका केही नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा छन् । उनीहरुले ओलीजीका विश्वास पात्रसँग पनि संवाद गरिरहेको हामीलाई सूचना आएको छ,’ उनले भने ।

कांग्रेस र एमालेको संवादले सार्थकता पाउनेमा आफूहरूलाई विश्वास नरहेपनि सहकार्य भइहालेको अवस्थामा प्रतिपक्षमा बस्न तयार रहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप