बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी

बिहीबार, ०६ वैशाख २०८१, २३ : ०१
बिहीबार, ०६ वैशाख २०८१

धनगढी । कैलाली निर्वाचन क्षेत्र नंं ४ (ख) बाट निर्वाचित दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भएका छन् । मुख्यमन्त्रीको कुर्सीसम्म आइपुग्दा उनको राजनीतिक जीवन भने त्यति सहज भने भएन । उनी बेलाबखत विवादित समेत बने । तर जनतामाझ भने लोकप्रिय छन् ।

हालसम्म दुई पटक भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनी दुवै पटक नै निर्वाचित भएका थिए । पहिलो पटक नेकपाबाट २०७४ मा निर्वाचित सोडारी मुख्यमन्त्री त्रिलोचन भट्ट हुँदा सामाजिक विकास मन्त्री भए । उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म सामाजिक विकास मन्त्री रहे । पार्टीको कारबाहीमा परेपछि उनी २०७५ कात्तिक २७ गते मन्त्रीबाट बर्खास्त गरिए ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि तत्कालीन मुख्यमन्त्री भट्टले उनलाई बर्खास्त गरेका थिए । मन्त्री भएपछि अनुचित आर्थिक लाभ लिएको, योजना छनौटमा आफू निकट कार्यकर्तालाई ध्यान दिएको, अपराधमा संलग्नलाई संरक्षण गरेको, शक्तिको दुरुपयोग गरेको, महिलामाथि दुर्व्यवहार गरेको लगायतका आरोप उनीमाथि लागेको थियो ।

तीनै कारण पनि आज मुख्यमन्त्रीमा दाबी पेस गरिरहँदा नेकपा एमालेले उनको वैकल्पिक पात्र खोज्न समाजवादीलाई दबाब दिएको बताइन्छ । तर समाजवादीको मुभले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्न थालेपछि  एमाले उनीप्रति नतमस्तक् भयो ।

रावल र सोडारीबिचको त्यो हातपात प्रकरण

उनी नेकपा विभाजनपछि पनि विवादमुक्त रहेनन् । नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका बेला तत्कालीन मुख्यमन्त्री भट्टले विश्वासको मत लिने पूर्व सन्ध्यामा आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोप उनीमाथि लागेको थियो ।

एमाले प्रदेश सचिव समेत रहेका हालका एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप सोडारीमाथि लागेको थियो । २०७८ जेठ २४ गते साँझ रावल पार्टी निर्देशनअनुसार मन्त्री सोडारीसहित प्रदेशसभा सदस्यहरूलाई जारी गरिएको ह्विपसम्बन्धी पत्र पुर्याउन गएका थिए ।

त्यसबेला रावलले भनेका थिए, ‘भोलि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले म पार्टीको निर्णयअनुसार नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए । उहाँको अनुमति पाएपछि मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरेको मात्रै के थिए उहाँले मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो । चिठ्ठी हातबाट खोस्ने प्रयास गर्नुभयो । राक्षसी व्यवहार देखाउनुभयो । तर मैले मन्त्रालय र मन्त्री पदको कदर गर्दै प्रतिवाद गर्न उचित ठानेन ।’

तर सोडारीले त्यसको कडा प्रतिवाद गरेका थिए । आफूले कुनै दुर्व्यवहार नगरेको उल्टै रावलले मन्त्रालयमा तोडफोड गर्न खोजेको र जबरजस्ती ह्विप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गरेको भन्दै आपत्ति जनाएका थिए । आज उनै राजेन्द्र रावलको सहयोगमा ४७ वर्षीय सोडारी मुख्यमन्त्री बन्न पुगेका हुन् । 

को हुन् उनी ?

अछामको मङ्गलसेन नगरपालिका–१४ मा जन्म भई कैलालीको गौरीगङ्गा नगरपालिका–५, अण्डैया घर भएका सोडारी जनतामाझ भने लोकप्रिय मानिन्छन् । फलतः उनी लगातार दुई पटक निर्वाचित भएका हुन् ।

स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका सोडारीको राजनीतिक जीवन भने २०५१ सालमा नेकपा (एमाले) निकट अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस, प्रारम्भिक कमिटी उपाध्यक्षबाट भएको हो । उनी पछि अनेरास्ववियुको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य समेत भए ।

एमालेको जिल्ला कमिटी सदस्य हुँदै उनी २०६३ मा जिल्ला सचिवालय सदस्य र २०६६ मा जिल्ला कमिटी सचिव र २०७० मा जिल्ला कमिटी अध्यक्ष समेत बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप