बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लोकसभाको निर्वाचन सुरु

शुक्रबार, ०७ वैशाख २०८१, १० : ०४
शुक्रबार, ०७ वैशाख २०८१

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ । शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको छ । मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश (६० सिट) र सिक्किम (३२ सिट)मा पनि विधानसभा चुनाव हुँदै छ । कुल संसदीय क्षेत्रको १९ प्रतिशत सिटमा मतदान भइरहेको छ । शुक्रबार सुरु भएको निर्वाचन ४४ दिनसम्म अर्थात् जुन १ सम्म चल्नेछ । चार जुनमा नतिजा घोषणा हुनेछ ।

दक्षिण भारतीय अभिनेता रजनीकान्तले तमिलनाडुको चेन्नईमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । लोकसभा चुनावको लागि जारी मतदान बीचमा पश्चिम बंगालको चन्दमारी, कुचबिहारमा मतदान केन्द्रको अगाडि ढुङ्गा हानाहान भएको छ ।

चन्दमारीमा मतदाताहरूलाई रोक्न टीएमसी कार्यकर्ताहरूले ढुङ्गा हानेको आरोप बीजेपीले आरोप लगाएको छ । यस घटनामा भाजपाका पोलिंग एजेन्ट घाइते भएका छन् ।

यस चरणका प्रमुख उम्मेद्वारहरूमा केन्द्रीय मन्त्रीहरू नितिन गडकरी, सर्वानन्द सोनोवाल र भूपेन्द्र यादव, कांग्रेसका गौरव गोगोई, र डीएमकेका कनिमोझी छन् । १ लाख ८७ हजार मतदान केन्द्रमा निर्वाचन आयोगले १८ लाखभन्दा बढी मतदान कर्मचारी परिचालन गरेको छ ।

यी मतदान केन्द्रहरूमा १६ करोड ६३ लाखभन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।मतदातामध्ये ८ करोड ४० लाख जना पुरुष, ८ करोड २३ लाख जना महिला र ११ हजार ३७१ जना तेस्रो लिङ्गी छन् ।

३५ लाख ६७ हजार मानिस पहिलो पटक मतदान दिँदै छन् । पहिलो चरणमा सबै लोकसभा सीटहरूमा मतदान भइरहेको राज्यहरूमा तमिलनाडु (३९), उत्तराखण्ड (५), अरुणाचल प्रदेश (२), मेघालय (२), अण्डमान र निकोबार टापुहरू (१), मिजोरम (१), नागाल्याण्ड (१), पुडुचेरी (१), सिक्किम (१) र लक्षद्वीप (१) छन । यसबाहेक राजस्थानका १२, उत्तर प्रदेशका ८, मध्य प्रदेशका ६, असम र महाराष्ट्रका ५–५, बिहारका ४, पश्चिम बंगालका ३, मणिपुरका २ र त्रिपुराका १–१ सिटमा मतदान हुनेछ । जम्मू कश्मीर र छत्तीसगढमा एक एक सिटमा मतदान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप