बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री

शुक्रबार, ०७ वैशाख २०८१, १६ : ३८
शुक्रबार, ०७ वैशाख २०८१

लन्डन । बेलायतमा मानिसहरू कार्यालयमा लामो समयसम्म बिरामी बिदामा बस्ने गरेका छन् । यसको कारण काम र उत्पादकत्व दुवै प्रभावित भइरहेको छ । सोही कारण प्रधानमन्त्री ऋषि सुनकले बिरामी बिदामा कडाइ गर्ने तयारी गरेका छन् ।

स्थायी रूपमा कार्यालय बाहिर जाने कर्मचारीको सङ्ख्या बढ्न नदिन सुनकले दीर्घकालीन बिरामी बिदाको नियमलाई कडा बनाउन लागेका हुन् । शुक्रबार सुनकले बेलायतको बिरामी बिदा संस्कृति अन्त्य गर्ने वाचा गरेका छन् ।

श्रम शक्ति सहभागिता २०१५ यता सबैभन्दा कम

बेलायतमा काम गर्ने उमेर समूहका एक चौथाइ मानिसहरू आर्थिक रूपमा निष्क्रिय छन् । १६ देखि ६४ वर्ष उमेरका करिब ९४ लाख मानिसहरू दीर्घकालीन बिरामी बिदामा छन् । कोभिडको महामारीको समयमा यो सङ्ख्या २१ लाख जति थियो । यीमध्ये ५३ प्रतिशतलाई डिप्रेसन वा एङ्जायटी छ ।

मानसिक स्वास्थ्य समस्याका कारण काम नगर्नेको सङ्ख्या बढ्नु चिन्ताको विषय भएको सुनकले बताए ।  लामो समयसम्म बिरामी बिदा बस्ने प्रवृत्ति र छात्रको सङ्ख्यामा भएको वृद्धिका कारण बेलायतमा श्रम शक्तिमा सहभागिता दर घटेको छ ।

विश्वका अन्य ठुला धनी देशहरूमा २०२० यता श्रम बलमा काम गर्ने उमेर समूहको सहभागिता बढेको छ । तर बेलायतमा भने यो अनुपात घटेर २०१५ यताकै न्यून स्तरमा ओर्लिएको छ ।

डाक्टरहरूले काममा फर्कनुको सट्टा बिरामी बिदा लिन सल्लाह दिइरहेको प्रधानमन्त्री कार्यालयको भनाई छ । मानिसहरूलाई काममा फर्काउन यो मनोवृत्ति परिवर्तन गर्न जरुरी भएको बताइएको छ ।

बिरामी बिदामा मात्रै होइन बिरामी बिदा बस्ने संस्कृतिमै परिवर्तन गर्न जरुरी भएको सुनकको भनाई छ । यसका लागि बेलायत सरकारले परीक्षण कार्यक्रम सुरु गरेर छुट्टै बिदा प्रणाली बनाउन लागेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप