शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले बैठक

एमाले महाधिवेशन प्रतिनिधिलाई प्रश्न : पार्टीको नीति र नेतृत्व कति सफल, कति असफल ?

आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा(एमाले)को प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । दसौँ महाधिवेशन सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि बोलाएको बैठक ललितपुरस्थित गोदावरीमा आइतबार सम्पन्न भएको हो । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले छलफल गरेका थिए । यस्तै अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । 

आइतबार बैठक समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशनले लिएको नीति, पार्टीले गरेका काम कारबाही र आगामी योजनाबारे वस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको जिकिर गरे । 

देशभरबाट दुई हजार चार सय ५४ जना प्रतिनिधि सहभागी रहेको बैठकमा अधिकांशले गुटबन्दी अन्त्य हुनुपर्ने, महाधिवेशनले  लिएको नीति अक्षरशः पालना हुनुपर्ने, युवा शक्तिलाई आकर्षण हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । 

केहीले महाधिवेशनले लिएको नीतिलाई कार्यान्वयन गर्न नेतृत्व सफल भएको निष्कर्ष सुनाए । चौतर्फी घेराबन्दीका बिच एमाले जनतामा स्थापित भएको उनीहरूको ठहर छ । तर, केही प्रतिनिधिले पार्टीभित्र देखिएका गुटबन्दी र जनताका निराशा अन्त्य गर्न नेतृत्व अझै सफल हुन नसकेको बताएका छन् । पार्टीले यसका लागि प्रयास गरिरहेको र थप प्रयास गर्नुपर्ने उनीहरूको सुझाव छ । 

केन्द्रीय लेखा आयोगका सदस्य तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पार्टी एक ढिक्का भएको जिकिर गरे । पार्टीको नीति, नेतृत्व र सिद्धान्तमा कुनै समस्या नभएको उनले बताए । ”हाम्रो पार्टीमा कुनै गुट छैन । गुट भन्ने कुरा भ्रम हो ।“ मन्त्री रामेश्वर श्रेष्ठले “कुनै विषयमा छलफल हुनु, फरक मत राख्नु गुटमा लाग्नु होइन ।” एमाले सरकारबाट बाहिरिँदा देशमा आर्थिक सङ्कट गहिरिएको, युवाहरूमा चरम निराशा छाएको उनले बताए । 

दसौँ राष्ट्रिय अधिवेशनपछि अहिलेसम्मका सङ्गठनले गरेका गतिविधिहरू, सङ्गठनले गरेका सकारात्मक काम, कुन ठाउँमा सुधार गरेर जानुपर्ने हो त्यसबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा छलफल भएको उनले बताए । 

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रहेका झापाका हरि राजवंशीले २०८४ को चुनावमा कसैसँग गठबन्धन नगर्ने, एमाले एक्लैले बहुमत ल्याउन जिकिर गरे । विगतमा समानुपातिकमा लोकप्रिय मत ल्याएका कारण भारी मतले चुनाव जित्ने ठोकुवा गरे । 

झापास्थित मेचीनगर १० केन्द्रीय सल्लाहकार परिषद्का भीम खवासले नेकपा एमालेको संगठन एकदमै बलियो भएका कारण ०८४ को चुनावमा ढुक्क देखिए । यसअघिका चुनावमा जनताले एमालेलाई रुचाएकै कारण समानुपातिकमा बढी भोट ल्याएको बताउँदै आउने चुनावमा पनि ठुलो पार्टी बन्ने बताए । “एमालेको भविष्य उज्ज्वल छ ।” खवासले भने । 

पार्टीमा गुटबन्दीको गन्ध आएको बताउँछन्, खड्ग कार्की ‘प्रेम’ । प्रदेश कमिटी कोशीका सदस्य रहेका कार्की भोजपुरबाट प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन आएका हुन् । केन्द्रमा भन्दा तल्लो तहमा रहेका नेताहरूले आफ्नो स्वार्थका लागि गुटबन्दी गरेको आरोप लगाएको । त्यसको अन्त्य यही बैठकबाट हुनुपर्छ । नेपाली राजनीति गर्ने नेपाली माटो र देशको सिमानाको माया गर्ने नेता पार्टी अध्यक्ष केपी ओली मात्र भएको उनले बताए । 

मिसन ग्रासरुटका कार्यक्रमले नेकपा एमाले अझै लोकप्रिय पार्टी बनेको बताउँछन्, डोल्पाका पूर्ण बहादुर डाँगी । कर्णाली प्रदेश पार्टी कमिटी सदस्य समेत रहेका डाँगीले महाधिवेशनपछि नेकपा एमाले निकै सफल भएको बताउँछन् । मिसन ८४ मा एमालेले बहुमत ल्याएर पहिलो पार्टी बनेर एकल सरकार बनाउनेमा उत्साहित देखिए । नेतृत्व सबल भएर पार्टी बलियो भनेको उनी बताउँछन् । अहिले नेकपा एमालेले लिएको नीतिका कारण पार्टीमा कुनै गुटबन्दी नहुने, आजैबाट अन्त्य भएको उनले प्रष्ट पारे । वडा, जिल्ला, प्रदेशमा र स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रम चाँडै हुन लागेको उनले बताए ।

आन्तरिक र बाह्य कारण निर्वाचनमा पार्टीको नीति सफल हुन सकेन

राधा तिमिल्सिना, धादिङ 

प्रथम विधान अधिवेशन र १० औँ महाधिवेशनपछि पनि केही नीतिहरू बनेका छन् । तीमध्ये केही कार्यान्वयनमा आएका छन् । ०७४ सालको निर्वाचनमा नेतृत्वले लिएका नीति गुमेको छ । यसमा आन्तरिक कुराले पनि तलमाथि भए । हाम्रा विरुद्धमा सबै पार्टी गोलबन्द भएर लागे । 

त्यति हुँदा हुँदै पनि मत र भोटका हिसाबले पहिलो पार्टी हुन सफल भएको छ । अहिले नेतृत्वले ५१ प्रतिशत मत ल्याउनुपर्छ भनेर नीति ल्याएको छ । त्यसलाई सफल पार्न सबै लागेका छौँ । कमीकमजोरीलाई पनि सुधारेर अघि बढ्नुपर्छ भन्ने बैठकले सन्देश दिएको छ । भूगोलमा भोगेका विषय पनि छलफलमा ल्याएका छौँ । हाम्रा सुझावलाई नेतृत्वले मनन गरेर जानेमा आशावादी छौँ । 

पार्टीभित्र थुप्रै मतभेद हुन सक्छ । मुद्दामा छलफल गर्न सकिन्छ । तर मुद्दाविना यो वा त्यो नाममा गुटबन्दी गर्छन् भने कार्यकर्ताले सहेर बस्दैन । केन्द्रले पनि सुधार्नुपर्छ । 

  • महाधिवेशनको नीति अनुसार परिणाम देखाउन सकेन

डम्बर अर्याल, सिन्धुपाल्चोक 

पार्टीको काम निर्वाचन परिणाम देखाउने हो । महाधिवेशनपछि दुई वर्षमा निर्वाचनमा देखिने गरी परिणाम देखाउन सकेन । जनताको बिचमा के काम भयो भन्ने कुरा देखिने स्थिति छैन । सदस्यता वितरण, समिति निर्माणको हिसाबले धेरै अगाडि बढेको अवस्था छैन । 

खासगरी पार्टी समिति निर्माणका जति पनि सन्दर्भ छन्, त्यसलाई संस्थागत र व्यवस्थित गर्न नीति सच्याएर जानुपर्छ । यी सबै कुरा निवारण गरी देशव्यापीरुपमा संगठित सदस्यमा जान सके जनताको बिचमा जान सकिन्छ । 

पार्टी विधि र पद्धति अनुसार चल्यो भने ती सबै कुरा सिद्धिन्छ । विधिलाई मिच्ने काम गर्ने र विधानसम्मत कुरा नगर्ने हो भने गुटका कुरा आउने हुन् ।

  • चौतर्फी घेराबन्दीका बिच एमाले जनतामा स्थापित भएको छ

सुरेन्द्र उदास, भोजपुर 

पार्टीको सबैभन्दा पहिला विधान अधिवेशन भयो । त्यसपछि महाधिवेशन भयो । त्यसै कारणले नै एमाले यो ठाउँमा उभिएको छ । एमालेमाथि चौतर्फी घेराबन्दी हुँदा पनि जनताको माझमा स्थापित भएको छ । त्यो एमालेको नीति र नेतृत्वले सफल भएको हो । 

पहिलो पार्टी हुनेछ भनेर १० औँ महाधिवेशनले घोषणा गरेको थियो । सिटको हिसाबले केही तलमाथि भए पनि जनमतको हिसाबले एमाले नै ठुलो दल भएको छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी, षड्यन्त्रलाई प्रतिस्पर्धा भन्न मिल्दैन । चुनावी मैदानमा एक्लै खडा हुँदा पनि एमाले पहिले दल हुन सफल भयो । आगामी दिनमा पनि एमाले पहिलो दल हुने सम्भावना छ । तर केही चुनौती रहेका छन् । चुनौती नीतिमा छैन, जनतामा छ । त्यसको सामना एमालेले गर्छ । अहिले नयाँ भनिएका दलहरूमा नीति, विचार, सिद्धान्त केही छैन । त्यो एमाले बाहेक अन्यले सामना गर्न सक्दैन । समग्रमा एमाले सफल छ । 

  • पार्टीभित्रको समस्या नेतृत्वले हल गरेर जानुपर्छ 

बिना शर्मा, मधेस प्रदेश

नीति र नेतृत्वको हिसाबले सफलको बाटोमै छ । तर मिसन ८४ मा सफल भए मात्र हामी पहिलो पार्टी बन्छौँ । शतप्रतिशत नभए पनि ९९ प्रतिशत प्रतिनिधि अध्यक्षको साथमा छौँ । एमाले सफल भए मात्र सुखी नेपाली समृद्ध नेपाल बन्नेछ । 

महाधिवेशन सहमतिमा हुने कुरा थियो । तर पार्टीभित्र चुनाव भयो । यसले अलिकति समस्या देखा पर्‍यो । त्यसलाई नेतृत्वले हल गरेर जानुपर्छ । म यो पार्टीमा ३२ वर्षदेखि निरन्तर छु । मलाई विश्वास छ, जनताको दुःख र दर्द बुझ्नै एक मात्र पार्टी एमाले हो । 

  • पार्टी नीति र नेतृत्वबारे बैठकमा खुलेर बहस भएको छ 

मञ्जली शाक्य, ललितपुर 

महाधिवेशनले लिएको नीति र नेतृत्वबारे परिषद् बैठकमा खुलेर बहस भएको छ । विकास निर्माण, गुटबन्दी अन्त्य लगायतका विषयमा समूहगत छलफलबाट आएका सुझाव नेतृत्वसमक्ष राखेका छौँ । महाधिवेशनले लिएका नीति कार्यान्वयन र नेतृत्वबाट भएका कमीकमजोरी हटाउन बैठक सफल हुनेमा विश्वास लिएका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया