मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समकक्षतामा लिन सकस

समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने

मङ्गलबार, ०५ साउन २०८३, १८ : ५८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य नियमावली स्वीकृत नभएका कारण प्रभावित हुने भएको छ ।
  • विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणका लागि भोलि बुधबारदेखि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
  • समकक्षता प्रमाणपत्र अनलाइनबाट प्राप्त गर्न सकिनेछ र आवश्यक परेमा कुरियरमार्फत पनि पठाइनेछ ।

काठमाडौँ । उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य अझै केही समय प्रभावित हुने देखिएको छ । शिक्षा मन्त्रालयबाट समकक्षता निर्धारण नियमावली स्वीकृत नभएका कारण विद्यार्थीहरूले समकक्षता प्रमाणपत्र लिन अझै केही समय कुर्नुपर्ने बाध्यता देखिएको हो । 

विगत ५ दिनदेखि समकक्षतासम्बन्धी कार्य ठप्प छ । विगतमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट हुँदै आएको समकक्षता निर्धारणको कार्य सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ ।

आयोगका अनुसार विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणका लागि भोलि बुधबारदेखि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

नेपालभित्रका तथा विदेशी विश्वविद्यालय एवम् शैक्षिक संस्थाहरूबाट उपाधि हासिल गर्ने सेवाग्राहीहरूका शैक्षिक प्रमाणपत्रहरूलाई मान्यता तथा समकक्षता प्रदान गर्ने गरिन्छ । ‘उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८१’ अनुसार समकक्षता भन्नाले स्वदेशी तथा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको उपाधिलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूको उपाधिसरह मान्यता दिने प्रक्रिया बुझिन्छ । 

विश्वविद्यालय अनुदान आयोगको विश्वविद्यालय समन्वय महाशाखाका उपनिर्देशक डुलराज चिमरियाले नियमावली स्वीकृत भएपछि मात्रै प्रमाणपत्र दिन सकिने बताए । भने, 'विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणका लागि भोलि बुधबारदेखि अनलाइन आवेदन दिन सकिनेछ । हामी अनलाइनमार्फत विद्यार्थीका कागजात लिन्छौँ । समकक्षताकै कारण कसैलाई समस्या नपरोस् भनेर आवश्यक सबै कागजात प्राप्त भएका आवेदकलाई पत्र बनाइदिनेछौँ र नियमावली स्वीकृत भएपछि प्रमाणपत्र उपलब्ध गराउनेछौँ । समकक्षता निर्धारण गर्दा विद्यार्थीले अध्ययन गरेको विश्वविद्यालयको पाठ्यक्रम नेपालको विश्वविद्यालय प्रणालीसँग मिल्छ कि मिल्दैन भनेर हेरिन्छ ।'

आयोगले नियमावली स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा पठाए पनि हालसम्म स्वीकृत भइसकेको छैन । विगतमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रमा दैनिक करिब दुई सय जना विद्यार्थी समकक्षताका लागि पुग्ने गर्थे । शैक्षिक समकक्षता निर्धारण गर्दा विदेशी विश्वविद्यालयको पाठ्यक्रमको संरचना र स्तर नेपाली विश्वविद्यालयहरूको पाठ्यक्रम तथा क्रेडिट मूल्याङ्कन प्रणालीसँग मेल खान्छ वा खाँदैन भन्ने प्राविधिक अध्ययन तथा विश्लेषण गरिन्छ । 

समकक्षता प्रमाणपत्र अनलाइनबाट प्राप्त गर्ने तरिका

आयोगका अनुसार, सेवाग्राहीले तोकिएको विधामा अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । त्यसपछि माग गरिएका आवश्यक कागजातहरू अपलोड गर्नुपर्छ । सुरुमा आवेदन कुन क्लस्टर अन्तर्गत पर्दछ भनी हेरिनेछ, जसका लागि क्लस्टर कमिटी गठन गरिएको छ । उक्त कमिटीका तोकिएका प्रतिनिधिले विवरणहरूको पुनरवलोकन गर्नेछन् ।

विवरणहरू विस्तृत रूपमा जाँच गरेपछि सही पाइएमा स्वीकृत हुनेछ र कागजात अपुग भएमा पुनः पेस गर्नुपर्नेछ । अपलोड गरिएका विवरणहरू ठिक भएरनभएको अनलाइनबाटै सच्याउन सकिने व्यवस्था छ । सबै विवरण र कागजात सही भएपछि आवेदन स्वीकृत भई अनलाइनबाटै समकक्षता प्रमाणपत्र प्रिन्ट गरेर निकाल्न सकिनेछ । 

सरकारको निर्णयानुसार साउन १ गतेदेखि वैदेशिक शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने कार्य विश्वविद्यालय अनुदान आयोगबाटै गर्ने व्यवस्था मिलाइएको थियो । सोहीबमोजिम पूर्वतयारी तथा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी अनलाइन आवेदन प्रक्रिया सुरु गर्न लागिएको आयोगले स्पष्ट पारेको छ । समकक्षताका लागि इच्छुक विद्यार्थी तथा सेवाग्राहीहरूले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

त्रिभुवन विश्वविद्यालयबाहेक स्वदेशी एवं विदेशी विश्वविद्यालय तथा विश्वविद्यालय सरहको मान्यता प्राप्त शैक्षिक संस्थाबाट शैक्षिक प्रमाणपत्र प्राप्त गरेका आवेदकलाई यो सेवा उपलब्ध हुनेछ । सम्बन्धित देशको अख्तियार प्राप्त नियमनकारी निकायको स्वीकृति लिई सञ्चालित शैक्षिक संस्थाबाट उपाधि हासिल गरी आवेदन दिनेहरूको प्रमाणपत्रलाई मान्यता वा समकक्षता प्रदान गरिने व्यवस्था गरिएको छ ।

समकक्षताका लागि मान्यता माग गरिएको तह र सोभन्दा तल्लो तह उत्तीर्ण गरेको प्रमाणपत्र आवश्यक पर्छ । यसका लागि सम्बन्धित विश्वविद्यालय वा शिक्षण संस्थाले जारी गरेको मूल प्रमाणपत्र पेस गर्नुपर्नेछ । दीक्षान्त समारोह नभएको अवस्थामा बढीमा ५ वर्षसम्मको अस्थायी प्रमाणपत्र ९प्रोभिजनल०, ट्रान्सक्रिप्ट वा ट्रान्सक्रिप्ट जारी नगर्ने विश्वविद्यालयको हकमा मार्कसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । खुला तथा दूर शिक्षाको उपाधिको हकमा भने सम्बन्धित विश्वविद्यालयको आधिकारिक पत्रसमेत पेस गर्नुपर्ने प्रावधान छ । 

कुरियरबाटै पठाइनेछ समकक्षता प्रमाणपत्र

आयोगको कार्यालयसम्म आउन असहज हुने सेवाग्राहीका लागि कुरियरमार्फत समकक्षता प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । आयोगका उपनिर्देशक चिमरियाले भने, 'नेपालको सुदूरपश्चिम वा विदेशमा रहेका सेवाग्राहीको समकक्षता स्वीकृत भएमा उनीहरू रहेकै ठाउँमा कुरियरमार्फत प्रमाणपत्रको हार्डकपी पठाइनेछ । साथै, अनलाइनबाट डाउनलोड गरेर पनि प्रमाणपत्र प्रिन्ट गर्न सकिनेछ ।' 

त्रिवि पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ । केन्द्रले गत असार ३२ गते सूचना जारी गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको थियो ।

नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ । साउन १ गते वा त्यसपछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले आयोगमा सम्पर्क गर्नुपर्ने उक्त सूचनामा उल्लेख थियो । यसअघि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरिदिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप