आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नरबहादुरजस्तो अभिभावक पाएर क्रान्ति गर्न सजिलो भयो : प्रचण्ड

सोमबार, १० वैशाख २०८१, ०९ : ५३
सोमबार, १० वैशाख २०८१

काठमडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. नरबहादुर कर्माचार्य जस्ता निष्ठावान् अभिभावक पाएकाले आफूलाई क्रान्तिको बाटो रोज्न सजिलो भएको बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उनको योगदान र प्रेरणाको स्मरण गरेका हुन् । 

‘नरबहादुर कर्माचार्यजस्तो संस्थापक । जो निष्ठावान् र सरल अभिभावक पाएर मलाई क्रान्तिको बाटो रोज्न सजिलो भयो’, प्रचण्डले भने, ‘पछि शान्ति प्रक्रियामा आएपछि पनि उहाँले कम्युनिस्ट एकताका लागि निरन्तर अभिप्रेरित गर्नुभयो ।’

पुराना पीढीका निष्ठावान् नेताकै कारण आफूहरू कम्युनिस्ट एकता हुनुपर्छ भनेर लागिरहेको बताए । उनले यसअघि गरिएको कम्युनिस्ट एकता विविध कारणले नटिके पनि एकपटक असफल भयो भन्दैमा त्यसबाट पछि हट्न नहुने बताए । 

दिवङ्गत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आबद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताए ।

चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गरेको बताए। 

निष्कलङ्कसित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्यले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि नरबहादुर कर्माचार्यको योगदानको चर्चा गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप