सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मालदिभ्सको संसदीय निर्वाचनमा चीननिकट राष्ट्रपति मुइज्जुको पार्टीलाई बहुमत

सोमबार, १० वैशाख २०८१, १० : ०१
सोमबार, १० वैशाख २०८१

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । समाचार एजेन्सी पीटीआई र एएफपीका अनुसार मुइज्जुको पार्टी ९३ मध्ये ६६ भन्दा बढी सिट जित्न सफल भएको छ । माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ । निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ ।

मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो । मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए ।

यसअघि माल्दिभ्सको संसदमा भारत समर्थक मानिने विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो । यही कारणले संसदमा मुइज्जुले ठूलो विरोधको सामना गर्नुपरेको थियो । अब संसदीय चुनावमा मुइज्जुको पार्टीको जितले भारतको चिन्ता भने थप बढ्दै गएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप