शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

सोमबार, १० वैशाख २०८१, २२ : ४४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ–५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान गर्न पाउनेछ । तर त्यसका लागि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयको सम्पर्कमा रही उडान सञ्चालन गर्नुपर्नेछ । साथै हवाई उडान हुने समयमा भने परीक्षण गर्न पाइने छैन ।

“स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा रही सुरक्षाको पूर्ण प्रत्याभूति भएपश्चात मात्र सर्तको अधिनमा रही प्याराग्लाइडिङ प्ररीक्षण पटके उडान अनुमति प्रदान गरिएको छ”, क्यानले दिएको अनुमति पत्रमा भनिएको छ । महाकुलुङ गाउँपालिकाले आजै उक्त कम्पनीलाई आजदेखि सुरु याक तथा चौरी व्यवसायी सङ्घ नेपालद्वारा आयोजित चौरी महोत्सवको अवसरमा प्याराग्लाइडिङको परीक्षण उडानका अनुमति दिएको छ ।

कम्पनीका प्रबन्धक नविनबाबु गुरुङले पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजी गर्ने क्रममा सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागिएको हो । “क्यानबाट आज अनुमति प्राप्त भएको छ, अबको केही दिनमा सो क्षेत्र आसपासबाट ५र६ वटा जति परीक्षण उडान गरिनेछ”, उनले भने । “परीक्षण उडान सफल भयो भने व्यवसायिक उडानको तयारी गरिनेछ ।”

उनले परीक्षण उडानमा त्यहाँको हावाको बहाव, मौसम अनुकुलताबारे जानकारी लिइनेछ । “परीक्षण उडान सफल भए स्थानीय तहसँगको सहकार्यमा व्यावसायिक उडानका लागि प्रयास गरिनेछ, मुख्य कुरा पर्यटकको आगमन त्यसका लागि यातायातको पहुँच कस्तो छ भन्नेमा पनि ध्यान दिइनेछ”, उनले भने । 

उनका अनुसार हाल कम्पनीले पोखरा, काठमाडौँको चन्द्रागिरि, सुर्खेत र दाङमा व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप