शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जनाको मृत्यु भएको कोठाभित्र रोइरहेकी थिइन् साढे २ वर्षकी बालिका

जनकपुरमा एकै दिन ४ जना मृत फेला
मङ्गलबार, ११ वैशाख २०८१, १६ : ४८
मङ्गलबार, ११ वैशाख २०८१

वीरगन्ज । धनुषाको जनकपुरमा मंगलबार एकै दिन ४ जना मृत अवस्थामा फेला परेका छन् । धनुषा प्रहरीका अनुसार २ जना झुन्डिएको अवस्थामा फेला परेका हुन् भने बाँकी २ जनाको मृत्यु पनि शङ्कास्पद रहेको छ ।

जनकपुरको रामानन्दचोकस्थित होटेल होलिडे एन्ड गेस्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । होलिडे एन्ड गेस्ट हाउसमा बिहान हितेन्द्र पासवान र प्रियंका कापर मृत अवस्थामा भेटिएकी धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । 

प्रहरीका अनुसार पासवान महोत्तरीको पिपरा गाउँपालिका–३ निवासी हुन् भने कापर महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी हुन् । तर, उनको माइती पिपरा नै भएको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गेस्ट हाउसको कोठाभित्र महिलाकी करिब साढे दुई वर्षकी छोरी रोइरहेको आवाज होटलवालाले सुने । प्रहरी भन्छ,‘त्यसपछि होटेल सञ्चालकले कोठा खोल्न लगाए । कोठा नखोलिएपछि झ्यालबाट उनीहरू  दुवै जनालाई झुन्डिएको अवस्थामा देखे । त्यस लगत्तै होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।’

यसबारे जानकारी लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फुटाएर बालिकालाई बाहिर निकालेको प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रवक्ता अवाका अनुसार उनीहरू चार दिनदेखि त्यस होटेलमा बस्दै आइरहेका थिए । 

तर उनीहरू श्रीमान–श्रीमती नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै जनाको परिवारलाई बोलाएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी आज बिहान मोटरसाइकल दुर्घटनामा परी एकजना पत्रकारको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिए पनि उनको मृत्यु शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । 

धनुषाधाम नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु प्रहरी नायब उपरीक्षक अवाले जनाए ।

आज बिहान ४ बजेको समयमा जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका वडा नम्बर ६ को जनकपुर ढल्केवर सडकखण्डमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक थिए । 

त्यसैगरी आजै मध्यान्ह जनकपुरको रामानन्दचोकमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । भर्खरै नवजात शिशुको शवबारे सूचना आएकोले घटनाबारे यथेष्ठ जानकारी आउन नसकेको धनुषा प्रहरी प्रवक्ता अवाले जनाए । 

उनले भने,‘यो घटनाबारे भर्खरै जानकारी आयो, तर के हो विस्तृत जानकारी लिन सकिएको छैन । अहिले प्रहरी घटनास्थलमा पठाएका छौँ, केहीबेरमा जानकारी आउँछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप