सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार

बुधबार, १२ वैशाख २०८१, १३ : ५०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आफ्नो पछिल्लो खेलमा गण्डकी प्रदेशले सफलता हात पारेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई चार विकेटले हरायो ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले हासिल गरेको यो दोस्रो जित हो । चार खेलमा भने गण्डकी प्रदेश पराजित भएको छ । ६ खेल खेलेको गण्डकी प्रदेश चार अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

जारी प्रतियोगितामा अत्यन्तै निराशाजनक प्रदेर्शन गरेको कोशी प्रदेशको यो लगातार पाँचौँ हार हो । हालसम्म खाता खोल्न नसकेको कोशी प्रदेश अंक तालिकामा सबैभन्दा तल छ । कोशी प्रदेशको टोली बागमती, लुम्बिनी, सुदूरपश्चिम, मधेश र गण्डकी प्रदेशसँग पराजित भइसकेको छ ।

बुधबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ५९ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

गण्डकी प्रदेशको जितमा दिनेश बुढामगरले ३३ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २४ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।

ओपनर ब्याट्सम्यान ईश्वर क्षेत्रीले २५ र अर्जुन कुमालले २४ रन बनाए । ईश्वरले २३ बलमा एक छक्का र तीन चौका तथा अर्जुनले १४ बलमा एक छक्का र तीन चौका प्रहार गरे । अर्जुन रायमाझीले अविजित २३ र कप्तान विपिन खत्रीले अविजित १८ रन जोडे ।

दीपक डुम्रेले पनि १८ रन बनाएका थिए । अमृत गुरुङले टोलीको खातामा १२ रन थपे । कोशी प्रदेशका बलर प्रकाश कार्कीले दुई विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चिए । श्रवण यादब, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले एक–एक विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेशका लागि दुवै ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । मिनाष थापा र सोनु अन्सारीले ७० रनको साझेदारी गरे । मिनाषले ४३ र सोनुले ४४ रन बनाए । मिनाषले ३६ बलमा एक छक्का र ६ चौका तथा सोनुले ३५ बलमा ६ चौका प्रहार गरे ।

कप्तान अंकित सुवेदीले पनि टोलीको खातामा ३२ रन थपे । उनले २६ बलमा चार चौका प्रहार गरेका थिए । श्रवण यादब २१ रनमा अविजित रहे । दीपेश कँडेलले १० रन बटुले । गण्डकीका बलर सुवाष भण्डारीले तीन तथा विपिन खत्री र अमृत गुरुङले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप