सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु

बुधबार, १२ वैशाख २०८१, १७ : ३५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । ललितपुर महानगरपालिकाले बुधबारदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा सुरु गरेको छ । एचपीभी डिएनए विधिबाट ३० देखि ६० वर्ष उमेर समूहकालाई पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सेवा सुरु गरेको हो । 

गत वर्षदेखि ३० देखि ६० वर्ष उमेर समूहका १३ सय महिलाको एचपीभी विधिबाट ८ वटा वडामा प्रारम्भिक परीक्षण तथा उपचारको पहल गर्दै आएकोमा यो वर्ष २९ वटै वडामा यो सेवा प्रदान गर्ने भएको हो । 

जनचेतना र स्क्रिनिङका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलालाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले नि:शूल्क उपचार सेवा प्रदान गर्ने भएको छ । 

पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पुर्‍याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परीक्षण एचपीभी डिएनए प्रविधिबाट हुनेछ । 

नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरू ( प्याप स्मियर, भीआइए भन्दा एचपीभी डिएनए विधि) सबैभन्दा प्रभावकारी विधि हो । 

फाउण्डेशनको आँकडा अनुसार महिलामा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्णरुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकतारहेको डा. घिमिरेले बताइन् । 

सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरूमध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको “स्क्रिनिङ” गर्ने दिगो विकाश लक्ष्य प्राप्तिका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.ब २०८०÷२०८१ मा कोशी, मधेस, बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट एचपीभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा पाइलट प्रोजेक्टको रुपमा सुरुवात गरिसकेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । सरकारले यसै वर्षको अन्त्य सम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपीभी डिएनए विधिबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप