शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न १२ स्थानमा आगलागी, करोडौँको क्षति

मङ्गलबार, १८ वैशाख २०८१, १२ : २२
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । काठमाडौँसहित देशका एक दर्जन स्थानमा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

  • काठमाडौँ, टोखा नगरपालिका-२ पञ्चेटारस्थित अमर तामाङको अप्सरा फर्निचरमा गएराति आगलागी हुँदा फर्निचरभित्र रहेका विभिन्न फर्निचरहरू र ना.३ च ६५९८ नम्बरको बोलेरो गाडी समेत जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
  • गुल्मी, गुल्मीदरबार गाउँपालिका-५ डाँडापोखरीस्थित खरबारी तथा जंगलमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-५ ढकालटोल बस्ने रविन ढकालको घर, गोठ र रिता ढकालको गोठमा समेत आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 
  • यसैगरी गुल्मी, ईश्मा गाउँपालिका-१ अमलेचौरस्थित खाल सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पवन अधिकारीको घरमा समेत आगलागी हुँदा घर, घर नजिकै रहेको बङ्गालो, चौपाया जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 
  • रामेछाप, मन्थली नगरपालिका-११ गेलु काउलेस्थित बझेपाखामा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४६ वर्षीय कर्ण बहादुर लामाको घर र २ वटा गोठमा समेत आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा, अन्नपात, काठपात र २ वटा गोठ पूर्ण रूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका २ जनालाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको छ । 
  • स्याङ्जा, चापाकोट नगरपालिका-१ मैदानस्थित संपास सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३ जनाको ३ वटा घर र ३ वटा गोठमा सोमबार साँझ आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको   छ । 
  • उदयपुर, लिम्चुङबुङ गाउँपालिका-५ हिम्मास्थित साकेला सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको ३ वटा घर र ३ वटा गोठमा समेत आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • यसैगरी उदयपुर, रौतामाई गाउँपालिका- ३ लाफागाउँ बस्ने ईन्द्र बहादुर बुढाथोकीको २ वटा घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • पाल्पा, रैनादेवी छहरा गाउँपालिका-४ सल्लेधारास्थित जंगलमा सोमबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँस्थित ३ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 
  • रौतहट, दुर्गाभगवती गाउँपालिका-५ वर्डहवा गाउँ बाग्मती पारी बस्ने सत्रुधन बैठा धोवीको घरमा सोमबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको ४ वटा घर पूर्णरूपमा जलेर करिब ९ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-८ भगतपुरवा बस्ने मुकई यादवको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सँगै जोडिएको २ वटा कच्ची झुपडी र लु.२ च ४०३३ नम्बरको ट्याक्टर समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • सप्तरी, खडक नगरपालिका-४ अमहा टोल बस्ने ५२ वर्षीय मोहम्मद अतिफ मियाँको घरमा विद्युत् सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • धनकुटा, साँगुरिगढि गाउँपालिका-६ चारखोलेस्थित सडकमा भारतबाट संखुवासभातर्फ अरूण थर्ड जल विद्युतको सामान बोकी जाँदै गरेको ना.७ ख ७९२४ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी हुँदा ट्रक पूर्णरूपमा जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप