मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

बुधबार, १९ वैशाख २०८१, ११ : ५३
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, अपरान्ह १२ः १५ बजे सुरु हुनेछ ।
पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

अघिल्ला दुवै खेलमा नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । शृंखलाको पहिलो खेलमा रोहितले एक सय १२ रन बनाएका थिए । उनले केवल ५४ बलको सामना गरी ६ छक्का र १० चौका हिर्काएका थिए । दोस्रो खेलमा उनले टोलीका लागि अविजित ७१ रनको योगदान गरेका थिए ।

यसक्रममा उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । वेस्ट इन्डिजका लागि भने पहिलो खेलमा कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाएका थिए ।

क्यारेबियन टोलीका लागि दोस्रो खेलमा विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए । शृंखलाको चौथो खेल बिहीबार खेलिने छ । पाँचौँ तथा अन्तिम खेल भने शनिबार खेलिने भएको छ । 

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले वेस्ट इन्डिजको सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो । 

वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । 

आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । 

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप