आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

जसपामा फुट : उपेन्द्रले कतारबाटै बोलाए संसदीय दलको बैठक

सोमबार, २४ वैशाख २०८१, १५ : ०५
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । यादवले सोमबार कतारबाटै  सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन्।  

‘अध्यक्षज्यूले संसदीय दलको बैठक मङ्गलवार बिहानका लागि बोलाउनुभएको छ । उहाँले कतारबाटै फोन गरेर भनेअनुसार बैठक राखिएको हो’, जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

न्युयोर्कमा आयोजना भएको  विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव हिजो आइतबार कतार पुगेका थिए । 

यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । उनी सोमबार पनि कतारमै रहेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले  यादव सोमबार राति कतारी समयअनुसार पाँच बजे स्वदेश फर्कने कार्यक्रम रहेको रातोपाटीलाई बताए । 

जसअनुसार यादव कतार एयरलाइन्सको जहाजबाट नेपाली समय अनुसार मङ्गलवार बिहान १ बजे काठमाडौँ अवतरण हुने छन् । त्यसअघि यादव एनआरएनए कतारले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका छन् । 

कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाललगायत कतारमा रहेका सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको भट्टले बताए ।
‘एनआरएनए कतारको कार्यक्रम भर्खर सकिएको छ । अब लञ्च सकेर केहीबेरको आरामपछि मन्त्रीज्यू यहाँको समयअनुसार साँझ ५ बजे नेपाल प्रस्थान गर्नुहुन्छ’, अध्यक्ष भट्टले सोमबार दिउँसो रातोपाटीलाई बताए । 

यस्तै यादव नेपाली दूतावासको अवलोकन भ्रमणमा पनि पुगेका थिए ।  यसैबिच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्री यादव मङ्गलवारबाट मन्त्रालयमा आउने जानकारी दिए । उनले पनि मन्त्री मध्यरातमा काठमाडौँ अवतरण हुने कार्यक्रम रहेको बताए । 

आइतबार जनता समाजवादी पार्टी नेपाल विभाजन भएको थियो । जसपाका ७ सांसद लिएर नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा आइतबारै निवेदन दर्ता भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप