सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बालमन्दिर जग्गा प्रकरण

कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि २८ रोपनी जग्गा भाडामा

बिहीबार, २७ वैशाख २०८१, १६ : १६
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर ठगेको आरोपमा प्रहरीले अनुसन्धान  गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ अनुमति लिएको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् ।

मासिक ९ लाख रुपैयाँ भाडा तोकेर वि.सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको बाल सङ्गठनकी अध्यक्ष विद्या न्यौपानेले रातोपाटीलाई बताइन् । वैशाख १४ मा बसेको बाल सङ्गठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

वृहस्पति विद्या सदनले बाल मन्दिरसँग सम्झौता गरेर सो जग्गा पुनः राई स्कुललाई ‘सवलिज’ मा दिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार नेपाल बाल सङ्गठन र वृहस्पति विद्या सदनबिच २०४९, २०५३, २०५८, २०५९ र २०७२ मा न्यून भाडा दरमा सम्झौता भएको छ । बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा लिजमा दिँदा वृहस्पति विद्या सदन र व्यापारिक घरानासँग मिलेर पूर्व पदाधिकारीहरूले आर्थिक लाभ लिएको आरोप छ ।

२०७२ मा तत्कालीन अध्यक्ष रिता सिंहले पुरानो सम्झौता बाँकी हुँदै अर्को सम्झौता गरेको भेटिएको छ । पुरानो सम्झौता १७ वर्ष बाँकी हुँदै समय थपेर ४३ वर्षसम्मको लागि सम्झौता गरिएको अध्यक्ष न्यौपानेले बताइन् । उनी भन्छिन्– ‘वि.सं २१३२ सालसम्मका लागि ७९ वर्षसम्म कायम हुने गरी सम्झौता गरेको देखिन्छ ।’

२०५९ भदौ ११ मा गरेको सम्झौता समयावधि २०८९ सालसम्म कायम थियो । तर, सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पदाधिकारीहरूले पुरानो सम्झौता अवधि समाप्त भएपश्चात् मात्र लागू हुने गरी पुनः ३८ वर्ष थप कायम गरेका हुन् ।

बाल सङ्गठनका तत्कालीन पदाधिकारी रिता सिंह र वृहस्पति विद्या सदनका पदाधिकारी पुरुषोत्तमराज जोशी समेतले मिलेमतो गरेर २०७२ साउन ३ मा पूरक सम्झौता गरेका हुन् । आरोपीहरुविरुद्ध बाल सङ्गठनको तर्फबाट ठगी मुद्दामा कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले बाल मन्दिरको नाममा ११९ रोपनी जग्गा प्रदान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप