मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
फिल्मी संवाद

‘मलाई भाइरल भएर एकछिन चर्चा कमाउनु छैन’

एकपछि अर्काे इँटा थप्दै जाँदा एकदिन महल ठडिनेछ : महेश त्रिपाठी
शुक्रबार, २८ वैशाख २०८१, १२ : ५५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौंँ । अभिनेता महेश त्रिपाठी यतिबेला चर्चामा छन् । उनको चर्चाको कारण हो चलचित्र ‘खजुरे ब्रो’ । उनी अभिनित फिल्म ‘खजुरे ब्रो’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।

फिल्ममा महेश त्रिपाठी ‘चिल्ली ब्रो’ नामक चरित्रमा देखिन्छन् । यो चरित्र एकदमै इन्ट्रेस्टिङ र दर्शकले रुचाउने खालको भएको उनी बताउँछन् ।

त्रिपाठीको गत वर्ष वैशाखमा ‘हल्कारा’ चलचित्र रिलिज भएको थियो । उक्त फिल्मले व्यवसाय नगर्न नसके पनि उनले अभिनयबाट निकै चर्चा बटुलेका थिए । ‘खजुरे ब्रो’ फिल्मबाट भने उनले व्यवसाय र चर्चा दुवै हुने आस राखेका छन् ।

कलेज अध्ययनपछि रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका त्रिपाठीसँग फिल्म ‘खजुरे ब्रो’ र आगामी अभिनय यात्राको विषयमा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

‘हल्कारा’ रिलिज भएको एक वर्षपछि नयाँ फिल्म ‘खजुरे ब्रो’ आउन लागेको छ । एउटा अभिनेताका लागि यो धेरै ‘ग्याप’ भएन र ?

रिलिजको हिसाबले हेर्दा ‘हल्कारा’ आएको एक वर्षपछि नयाँ फिल्म ‘खजुरे ब्रो’ आउन लागेको हो । अभिनय भने ‘हल्कारा’ रिलिजपछि ३/४ वटामा गरिसकेँ । एउटा कलाकारका लागि एक वर्षको ‘ग्याप’मा फिल्म रिलिज हुनु स्वाभाविक नै लिन्छु । अहिले सुटिङ सकिएका ‘खजुरे ब्रो’ बाहेक २/३ वटा फिल्म छन् ।

यो वर्ष भने केही फिल्म आउने सम्भावना छ । अहिले ४ वटा नयाँ फिल्ममा आवद्ध भएको छु । ती पनि छिटै निर्माण हुने तयारीमा छन् । यो २०८१ सालमा मेरो धेरै फिल्म आउँछन् होला ।

पछिल्लो समय फिल्ममा तपाईंको व्यस्तता बढेको हो ?

‘हल्कारा’ अगाडि मेरो फिल्म ‘चपली हाइट’ रिलिज भएको थियो । त्यो फिल्मले मेरो करियरमा खासै फाइदा गर्न सकेन । गत वर्ष वैशाखमा रिलिज ‘हल्कारा’ले भने धेरै फिल्म दिलाउन सफल भयो । केहीमा अभिनय गरेँ भने अझै केहीमा गर्ने तयारी भइरहेको छ ।

अहिले फिल्ममा अफर आइरहेको छ भन्दैमा म हतारमा  गर्दिनँ । वर्कसप, सुटिङको समय राखेर वर्षमा जति भ्याइन्छ, त्यतिमात्र गर्छु । पहिलेजस्तो एक फिल्म अभिनय गरेर रिलिजसम्म चुप लागेर बस्दिनँ ।

‘हल्कारा’मा हुलाकीको रुपमा देखिनु भएको थियो । ‘खजुरे ब्रो’मा कस्तो भूमिकामा देख्न सकिन्छ ?

फिल्ममा मेरो एकदमै इन्ट्रेस्टिङ ‘चिल्ली ब्रो’को चरित्र छ । अहिलेसम्म अभिनय गरेको भन्दा पृथक र डाइनामिक चरित्र हो यो । फिल्म ‘चपली हाइट’ र ‘हल्कारा’ भन्दा यो फिल्ममा मैले निर्वाह गरेको भूमिका पृथक पनि छ । यसको चरित्र मलाई काम गर्न सजिलो लाग्ने खालको होइन, फिल्ममा यो चरित्र निकै बलियो छ । त्यसैले पनि अभिनय गरेँ ।

कमेडी, सिरियस मिक्स, सबैखालको मसलाले भरिएको छ । मभन्दा नितान्त भिन्न परिवेशको चरित्र हो यो । यो मेरो लागि पनि नयाँ भएकाले काम गर्न मज्जा आयो ।

फिल्मबाट कस्तो अपेक्षा कस्तो छ ?

नढाँटी भन्नुपर्दा यो राम्रो अभिनेता हो भनेर ‘हल्कारा’ले चिनाएको हो । देश विदेशको अवार्डसमेत दिलायो । त्यो उचाइमा यो फिल्मले एउटा इँटा थप्ने काम गर्छ भन्ने विश्वास छ । हल्काराभन्दा यो फिल्म अलि कमर्सियल र मसालेदार भएकाले व्यावसायिक रुपमा पनि सफल हुन्छ होला ।

फिल्म कसरी छान्नुहुन्छ ?

पहिले त आफूले निर्वाह गर्ने पात्र हेर्छु । त्यसपछि फिल्मको कथावस्तु, कमर्सियल भ्यालु लगायतका पाटो केलाउँछु । फिल्मको कतिपय केसमा स्टोरी ड्रिभन र क्यारेक्टर ड्रिभन भन्ने हुन्छ । स्टोरी ड्रिभन छ भने पात्रका लागि धेरै सोच्नुपर्ने अवस्था हुन्छ । क्यारेक्टर ड्रिभन छ भने त्यो पात्र महत्त्वपूर्ण भएर आउँछ । त्यसमा एउटा अभिनेताले म कहाँ जाँदैछु भनेर थाहा पाउनुपर्छ । मैले पछिल्लो समय गरेको एकदुई फिल्म स्टोरी ड्रिभन छ । अन्य सबै क्यारेक्टर ड्रिभन छ । म क्यारेक्टर ड्रिभन भएको फिल्म रुचाउने व्यक्ति हो । तर फिल्ममा चरित्रको चर्चाको अलावा व्यावसायिक सफलता पनि महत्त्वपूर्ण हुँदोरहेछ ।

फिल्मको व्यवसाय कि आफूले निर्वाह गरेको पात्रको चर्चाले खुसी मिल्छ ?

अहिलेसम्म म अभिनयको चर्चाले नै खुसी हुने मानिस हो । हरेक चिज नपाएसम्म महत्त्व हुने रहेछ । पाएपछि त्यसपछि के भन्ने लाग्दो रहेछ । अहिले अभिनय चर्चा पाइसकेकाले व्यावसायिक सफलता पनि चाहिन्छ भन्ने लाग्न थालेको छ । कलाकारलाई नयाँ प्रोजेक्ट दिलाउन व्यावसायिक सफलताले धेरै महत्त्व राख्दो रहेछ ।

अभिनेताको रुपमा आफ्नो चरित्रमा भिज्नु, जीवन्त बनाउनु मेरो प्रमुख धर्म नै हो । त्यसको अलावा व्यावसायिक दृष्टिले पनि राम्रो होस् भन्ने सोच्नु अहिलेको आवश्यकता हो ।

रङ्गमञ्चको सफलतापछि फिल्ममा भित्रिनु भएको हो । त्यहाँको जस्तो क्रेज यहाँ बन्यो कि बाँकी छ ?

रङ्गमञ्चमा म एउटा साँघुरो सर्कलमा थिएँ । फिल्ममा आएपछि मेरो त्यो सर्कल फराकिलो हुँदैछ । मेरो अभिनयको दायरा पनि बढ्दै गएको छ । बिस्तारै सबैतिर चिनिने, सबैको माया पाउने क्रम बढ्दो छ । त्यो चिजले मलाई दीर्घकालसम्म लैजान्छ ।

मलाई भाइरल भएर एकछिन चर्चा कमाउनु छैन । अहिले नेपाली फिल्मभित्र आफ्ना लागि जग बनाउँदैछु । किनभने एक दुई वर्ष फिल्ममा रमाएर विदेश पलायन हुनु छैन मलाई । एकपछि अर्काे इँटा थप्दै जाँदा एकदिन महल ठडिनेछ । अहिले म जसरी अगाडि बढिरहेको छु, आफूलाई ठिक लागिरहेको छ ।

तत्काल अभिनय गर्न मन लागेको चरित्र छ कि ?

अहिलेसम्म यो चरित्र गर्न पाए हुन्थ्यो भन्ने छैन । जुन चरित्र हातमा पर्छ, त्यो विशेष तवरबाट कसरी निर्वाह गर्ने भन्ने कुरो सोच्छु । यस्तो काम हात परोस्, जसले मलाई साइकोलोजिकल, फिजिकल हरेक दृष्टिले च्यालेन्ज गरोस् भन्ने लाग्छ । मलाई धेरैभन्दा धेरै मेहनत गराउने चरित्र आयो भने अभिनय गर्न मज्जा लाग्छ ।

फिल्ममा भित्रिएका कलाकार रङ्गमञ्चमा फर्किएनन् भनेर गुनासो हुने गरेको छ । तपाईंको सोच के छ ?

मैले फिल्म अभिनय थालेदेखि आफैँले नाटक अभिनय गरेको छैन । तर अभिनयको प्रशिक्षक भएकाले विद्यार्थीहरूलाई समय समयमा नाटक गराउने गरेको छु । केही समय अगाडिमात्र दुई वटा नाटक गराएँ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा म नाटकसँग पनि जोडिएको छु । फिल्म अभिनय गर्दैमा नाटकबाट टाढा हुन्न । समय मिलाएर नाटक गरिरहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप