आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन : महामन्त्री शर्मा

शुक्रबार, ११ जेठ २०८१, १४ : ३५
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु गठबन्धन’को संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  सहकारी बन्दु गठबन्धनको शैली ठिक नदेखिएको बताए । 

‘केपी ओलीले केही दिनअगाडि ‘कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो’ भन्नु भएको थियो । यो सहकारीबन्दु गठबन्धनको शैली ठिक देखिएन,’ उनी भन्छन्, ‘यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनु भएको छ ।’

प्रतिपक्षले संसदमा बोल्दै गर्दा संवादको प्रक्रिया सहज हुन्छ भन्ने सभामुखको भावमा उनले आपत्ति जनाए । ‘पूर्वनिधारित कार्यतालिका अनुसार प्रतिपक्षबाट आज म बोल्ने मेरो तयारी थियो । केही बोल्नु पनि थियो । केही सोध्नु पनि थियो । प्रतिपक्षले संसदमा बोल्नुपर्ने थुप्रै विषय छन्,’ उनी भन्छन्, ‘त्यसमध्येको एउटा विषय हो सहकारी ठगीको विषय । सहकारी ठगीको सन्दर्भमा लामो कुरा केही छैन । छानबिन समिति बनाउने सहमति भएको छ । छानबिन गर्ने भए कसमाथि छानबिन गर्ने लेख्नुपर्छ क्लियर कुरा ।’ सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति गठन हुनुपर्ने महामन्त्री शर्माले बताए । ‘अस्पतालमा आएका सबै बिरामीको अप्रेसन हुँदैन । कसैलाई भिटामिन दिएर पठाइन्छ, कसैलाई एनटिभ्याइटी दिएर पठाइन्छ । कसैलाई अप्रेसन गरिन्छ । अप्रेसन गर्ने मान्छेको नाम लेख्न तयार नभएपछि त्यो छानबिन समिति बन्नु र नबन्नुको अर्थ हुँदैन,’ उनले भने । 

नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने गृहमन्त्री नै दोहोरो पासपोर्टमा आरोपित रहेको उनले बताए । ‘दुई वटा पासपोर्टमा छानबिन हुनुपर्ने आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले छानबिन गर्नुपर्ने भनेको छ । महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?,’ उनको प्रश्न छ, ‘गृह मन्त्रालयको शाखा हो ? केही पासपोर्ट प्रकरणमा छानबिन गर्नुपर्दैन भनिदिएको छ । केही सहकारी ठगीमा उहाँ रवि लामिछाने) संलग्न हुनुहुन्न भनिदिएको छ । त्यो संवैधानिक इजलास हो । त्यसैले सहकारीको विषय गम्भीर रूपमा उठाउँनुछ ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि गिरिबन्धु चिया बगान बेचेर कमिसन खाएको आरोप लगाएको भन्दै त्यसमा पनि छानबिन समिति गठन हुनुपर्ने शर्माले बताए । ‘त्यसमा पनि छानबिन समिति बनायौँ । हामी त्यसमा तयार छौँ । गृहमन्त्रीले संसदमा बोल्दा कांग्रेसका सांसदमाथि आरोप लगाउनु भयो । को-कोमाथि छानबिन गर्नुपर्ने हो । गरे हुन्छ नि त । हामी तयार छौँ । नाम, थर, उमेर, ओजन, गोत्र, ठेगाना, माइतीपट्टी, ससुरालीपट्टी, औलाका चक्र र शंख के के छ लेख्नुहोस् । लेखिराखेर छानबिन गर्ने कुरामा कांग्रेसको आपत्ति हुँदैन,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप