सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध विरोध प्रदर्शन गर्न कांग्रेस बागमतीले थाल्यो तयारी

शुक्रबार, ११ जेठ २०८१, १८ : ५६
शुक्रबार, ११ जेठ २०८१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले सरकारविरुद्ध विरोध प्रदर्शनको तयारी थालेको छ । कांग्रेसले आगामी जेठ १३ गते काठमाडौँमा गर्ने विरोध प्रदर्शनका लागि कांग्रेस बागमती प्रदेश समितिले तयारी बैठक गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुरूप प्रदेशको सम्पर्क कार्यालय बालकुमारी काठमाडौँमा शुक्रबार बसेको बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।  

काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध प्रदर्शनलाई व्यापक बनाउन उपत्यकाका ३ जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का १५ वटै निर्वाचन क्षेत्रका पार्टीको संरचना, भातृ तथा शुभेच्छुक संघसंस्थालाई परिचालन र व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि बोल्दै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसदभित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध रहेको बताए । सहकारीको रकम अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेले आफू मातहतका निकायलाई प्रभावमा पारेर आफूमाथि भइरहेको अनुसन्धान रोक्दै प्रमाण नष्ट गर्न लागि परेको उनले आरोप लगाए । सो विषयमा कांग्रेसले तत्काल संसदीय छानबिनको माग गरेको उनको भनाई छ ।

सभापति बानियाँले कांग्रेस कुनैपनि बेथितिमा आफ्ना मान्छे छन् भने सजाय भोग्न तयार रहेको बताए । विगतको इतिहासमा पनि कांग्रेसले आफ्नै सरकार हुँदा आफ्ना पूर्वमन्त्रीहरुलाई कारबाहीको दायरामा ल्याउँदा सरकारका अङ्गहरूलाई कुनै किसिमको दबाब सिर्जना नगरेको उनले बताए ।

बैठकले सहकारी अपचलनको विषयमा प्रमाणसहित आउँदा पनि छानबिन गर्न नखोजी जर्वजस्ती ढंगबाट सत्तापक्ष लागेकोमा कांग्रेस बागमती प्रदेश घोर निन्दा र आपत्ति प्रकट गर्दै आम जनतालाई जागृत गराउँदै विरोध प्रदर्शनमा उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप