सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
उद्योग विभाग रिपोर्ट

वैशाखसम्म कति आयो विदेशी लगानीको प्रतिबद्धता ?

शनिबार, १२ जेठ २०८१, १५ : १०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । वैशाख महिनामा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनाको अवधिमा सो बराबरको विदेशी लगानीको प्रतिबद्धता स्वीकृत भएको हो ।

यस अवधिमा ‘अटोमेटिक रुट’ (स्वचालित मार्ग) मार्फत २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत भएको छ । उद्योग विभागले लगानी सम्मेलनका क्रममा ‘अटोमेटिक रुट’ सुरु गरेको घोषणा गरेको थियो । सम्मेलनका क्रममा वैशाख १७ गते विभागले यस्तो घोषणा गरेको थियो ।

वैशाख महिनाको अवधिमा नै अर्बौँ रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ । विभागले ५० करोड रुपैयाँसम्मको लगानी स्वचालित मार्गमार्फत स्थापना गर्न सकिने व्यवस्था सुरु गरेको थियो ।

यस्तै परम्परागत शैलीमार्फत वैशाख महिनाको अवधिमा ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको जनाइएको छ । स्वचालित र परम्परागत शैलीमार्फत १३ अर्बभन्दा बढीको प्रतिबद्धता स्वीकृत भएको हो । 

यसैगरी, चालू वर्षको साउन महिनादेखि वैशाख मसान्तसम्मको अवधिमा कूल ४३ अर्ब ५३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । यस अवधिमा ३२८ वटा प्रतिबद्धता आएका छन् । जसबाट १७ हजार २०० भन्दा बढीले रोजगारी पाउने बताइएको छ ।

कूल प्रतिबद्धतामध्ये २९० वटा साना उद्योग स्थापनाको योजना लगानीकर्ताले दिएका छन् । यस्तै १३ वटा मझौला उद्योग र ४ वटा ठुला उद्योग स्थापनाको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप