सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

घरको वास्तु : कस्तो रङ, कस्ता कोठा, कुन दिशा ?

आइतबार, १३ जेठ २०८१, १० : ३५
आइतबार, १३ जेठ २०८१

वास्तुशास्त्र भनेको ब्रह्माण्डको ऊर्जा सन्तुलनको विज्ञान हो । तत्त्वहरूको सन्तुलनबाट मानव जीवनमा भौतिक सुविधा बढाउने शास्त्रीय विधि हो, वास्तुशास्त्र । 

वास्तुशास्त्रले विज्ञानको विकास गर्दा प्रकृतिलाई बिथोलिन नदिन तत्त्वहरूको सन्तुलनमा जोड दिन्छ । जस्तो : बिहानको सूर्यको ऊर्जाबाट अधिकतम लाभ लिन घरको पूर्वतिर खुला राख्न सल्लाह दिन्छ । यसले पञ्चतत्त्वसँग भौतिक निर्माणको तालमेललाई अनिवार्य गरेको हुन्छ । जहाँ रङ र आकारसँगै पृथ्वी, जल, अग्नि, वायु र आकाशको सन्तुलनलाई जोड दिइन्छ । 

कहाँ कस्तो रङले वास्तु ऊर्जालाई सन्तुलन गर्छ भन्ने ख्याल राख्नुपर्छ । जस्तो ः भान्साकोठामा सुन्तला, रातो, पहेँलो र खैरो रङको प्रयोग गर्न सकिन्छ । शयनकक्षमा हल्का निलो, हरियो, मधुर उज्यालो रङको प्रयोग राम्रो हुन्छ । पाहुना या बैठक कोठामा पहेँलो, हरियो, निलो रङले सकारात्मक ऊर्जा दिन्छ । पूजा कोठा सेतो, हल्का पहेँलो, हल्का निलो रङले ऊर्जावान् हुन्छ । 

दिशाका आधारमा रङहरूको संयोजन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । उत्तर दिशा हरियो रङको क्षेत्र हो भने पूर्वमा सेतो, दक्षिणमा रातो, पश्चिममा निलो रङ शुभ हुन्छ । ईशान कोण (पूर्व र उत्तर कोण)मा सेतो र हल्का नीलो; आग्नेय (पूर्व र दक्षिण कोण)मा चाँदी रङ वा हल्का खैरो; दक्षिण–पश्चिम पहेँलो वा हलुका खैरो अथवा माटो रङ र उत्तर–पश्चिममा सेतो वा हलुका खैरो रङ उत्तम मानिन्छ ।

यसले पञ्चतत्त्वसँग भौतिक निर्माणको तालमेललाई अनिवार्य गरेको हुन्छ । जहाँ रङ र आकारसँगै पृथ्वी, जल, अग्नि, वायु र आकाशको सन्तुलनलाई जोड दिइन्छ ।

कुनै पनि जमिन अपार्टमेन्ट वा घर किन्नुअघि उत्तर–पूर्व (ईशान कोण)को जाँच गर्न अनिवार्य हुन्छ । कुनै पनि सम्पत्तिको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील ईशान कोण हो, जसले सकारात्मक ऊर्जाको स्रोतका रूपमा काम गर्ने हुनाले यस क्षेत्रमा सफा र ऊर्जावान् राख्नुपर्छ । किनकि यो वास्तु पुरुषको शिरको भाग हो भने घर या भवनकोे मस्तिष्क हो । यहाँ प्रार्थना कोठा, मन्दिर वा ध्यान स्थान बनाउँदा अत्यन्तै राम्रो हुन्छ । शौचालय, भान्साघर, पसल, सेप्टिक ट्याङ्कीजस्ता निर्माण यस क्षेत्रमा गरिनु हुँदैन । बनिसकेको छ भने हटाउनु नै राम्रो मानिन्छ । उत्तर–पूर्व दिशाको वास्तुदोष उपचारका माध्यमबाट हटाउन त्यति सजिलो छैन । 

आग्नेय कोण अग्निको कोण हो । यस क्षेत्रमा अग्निजन्य कार्य शुभ हुन्छ । त्यसैले यहाँ भान्सा कोठाका लागि सिफारिस गरिन्छ । किनकि भान्सामा आगोको गतिविधि प्रधान मानिन्छ । भान्साको दिशा वा स्थान वास्तु अनुसार धेरै महत्त्वपूर्ण भएकाले भान्साकोठालाई आग्नेय दिशामा राख्नु फाइदाजनक हुन्छ भने त्यहाँ बस्नेहरूलाई सकारात्मक मद्दत मिल्छ । 

वास्तु अनुसार खाना पकाउने चुलो वा अन्य तताउने उपकरणले अग्नि तत्त्वलाई प्रतिनिधित्व गर्छ । दक्षिण–पूर्व र दक्षिण दिशा अग्नि तत्त्वसँग सम्बन्धित भएकाले यहाँ भान्साकोठा हुँदा अग्नितत्व सन्तुलित रहन्छ । विकल्पका रूपमा भान्साका लागि दोस्रो–उत्तम दिशा वायव्य (पश्चिम–उत्तर कोण) हो, तर आग्नेय जतिको सकारात्मक मानिँदैन । 

भान्साको रङ पनि वास्तु अनुसार हुनुपर्छ । भान्साकोठामा कालो, निलो वा खैरो रङ राख्नु हुँदैन । किनभने यसले अग्नि तत्त्वलाई सहयोग गर्दैन । 

वास्तुका अनुसार दक्षिण–पूर्वदेखि दक्षिण दिशामा भान्साकोठाको व्यवस्थापन गर्नुपर्छ । यद्यपि, कहिलेकाहीँ आधुनिक निर्माण र अपार्टमेन्ट अवधारणाका कारण त्यस्तो नभएमा वास्तु उपचारद्वारा भान्साको व्यवस्थापन गर्न सकिन्छ । भान्साको वास्तुदोष व्यवस्थापन गर्दा चुलो र अन्य उपकरण; ढोका र झ्यालको स्थान र रङको प्रयोगजस्ता कुरामा ध्यान दिन अनिवार्य हुन्छ ।

अधिकांश मानिस पूर्वमुखी घर राम्रो मान्ने गर्छन् । दक्षिणमुखी घर वास्तुअनुसार राम्रो हुँदैन भन्दै सामान्यीकरण गर्ने गरेको सुनिन्छ । कुनै पनि दिशा राम्रो या नराम्रो भनेर भन्नु भन्दा पनि त्यस क्षेत्रको निर्माण अनुसार ख्याल राख्नुपर्ने हुन्छ । दक्षिण–पूर्व र दक्षिणको बिचमा प्रवेशद्वार भएको दक्षिणमुखी भवन सकारात्मक गुणसहित शुभ हुन्छ तर दक्षिण–पूर्व दिशामा मुख्य ढोका छ भने घर पूर्वमुखी नै भए पनि राम्रो मानिँदैन । प्रवेशद्वार भवनको मुख हो । जसरी हाम्रो शरीरको वृद्धि र स्वास्थ्य हामीले मुखबाट खानेकुरामा आधारित हुन्छ, त्यसरी नै घर या भवनको वृद्धि र स्वास्थ्य मुख्य ढोकाबाट प्रवेश गर्ने ऊर्जाको प्रभाव महत्त्वपूर्ण हुन्छ । 

दिशाका आधारमा अनुमान नगरी वास्तु परामर्शदातासँग परामर्श लिई प्रवेशद्वार लाभदायक छ कि छैन भनेर मूल्याङ्कन गर्नुपर्छ । दक्षिण–पश्चिम दिशामा प्रवेशद्वार वा मुख्य ढोकाबाट जोगिनुपर्छ । घर या निवास निर्माण गर्दा शौचालय, सेप्टिक ट्याङ्की र अन्य फोहोर व्यवस्थापनका लागि विशेष सावधानी अपनाउनुपर्छ ।

शयनकक्ष, अध्ययन कक्ष, पाहुना वा स्वागत कक्ष, भोजन कक्ष, सिँढी आदि निर्माण गर्दा सकारात्मक ऊर्जा प्रवाह भएका ठाउँको छनोट गर्नुपर्छ । मानिसको जीवनमा सबैभन्दा सुखद् पक्ष घर भएकाले घर बनाउँदा वास्तुविद्सँग उचित परामर्श गरेर मात्र निर्माण गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप