बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले मन गढन्ते नीति तथा कार्यक्रम ल्यायो :  लामा

बुधबार, १६ जेठ २०८१, १७ : २५
बुधबार, १६ जेठ २०८१

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले सरकारले महत्त्वाकाङ्क्षी भएर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । उनले सरकारले कार्यान्वयनमा भन्दा पनि चर्चाको लागि मात्र नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे ।

प्रदेशसभाको बुधवार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफल गर्दै नेता लामाले सरकारले ल्याएको नीति तथा कार्यक्रमसँग बजेटको तालमेल मिल्न सक्ने अवस्था नरहेको बताए । सरकारको मन गढन्ते नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।

‘सरकारले ठोस नीति र कार्यक्रम ल्याउन सकेन । सरकारको नीति तथा कार्यक्रम विगतको निरन्तरता छ । नीति तथा कार्यक्रममा फरकपन केही भेटिएन । सरकारले नीति तथा कार्यक्रममा मनगढन्ते ढङ्गको ल्याएकाले यसबाट प्रदेशले ठुलो मूल्य चुकाउनु पर्नेछ । यसतर्फ अग्रसर नहुन सरकारलाई आग्रह गर्दछु’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र प्राथमिकतामा पर्न नसकेको उनले बताए । प्रदेश सरकारले उद्योग धन्दामा लगानी गरी रोजगारी सृजना गर्नुपर्ने उनको भनाई छ । रोजगारी सृजना, पर्यटन क्षेत्रको विकासमा सरकारले खासै कार्यक्रम ल्याउन नसकेको उनले बताए ।

‘वातावरण संरक्षण, विपद् व्यवस्थापन र प्रतिकार्यमा सरकारको योजना देखिएन । उद्योगधन्दा विकास र विस्तार तथा रोजगारी सृजना तथा स्वरोजगारमूलक घरेलु तथा हस्तकला उद्योग सञ्चालन तथा प्रोत्साहनमा नीति तथा कार्यक्रम मौन देखियो ।’ नेता लामाले भने, ‘बन्द उद्योग सञ्चालन तथा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण, हेटौँडा कपडा उद्योग सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गर्न नीति तथा कार्यक्रम र बजेट निर्देशित गरिनु पर्छ ।’

सरकारीमा देखिएको समस्या समाधानमा सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसकेको उनले बताए । समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति गठन भएपनि सोको सञ्चालन तथा प्रभावकारितामा सरकारको ध्यान पुग्न नसकेको उनको भनाई छ । सरकारले सहकारीमा देखिएका समस्या समाधानका लागि ठोस योजनासहित बजेट व्यवस्थापनमा अग्रसर हुनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप