बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपाल सम्हालिने एमाले र माओवादीको विश्वास

शुक्रबार, १८ जेठ २०८१, १६ : ४४
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि तरङ्गित बनेको राजनीति अझै सम्हालिएको छैन । 

त्यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई बोलाएरै छलफल गर्नुपरेको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भएको भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताएका छन् ।

छलफलपछि सिंहदरबारबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

स्रोतका अनुसार तीन नेता बिचको छलफलमा नेपालको बुढानीलकण्ठ हिमचिमले राम्रो सन्देश नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘माधवजीको बुढानीलकण्ठ हिमचिम त्यति राम्रो भएन । एकातिर गठबन्धन छ अर्कोतिर हिँडिरहनुभएको छ, चित्त नबुझे यही कुरा गर्दा भइहाल्छ’, ओलीको भनाइ थियो ।  

सत्ता साझेदार ठुला दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सन्तुष्ट हुन नसकिरहेकै बेला अध्यक्ष नेपाल बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर सङ्घदेखि प्रदेशसम्मको सत्ता समीकरण फेरबदलबारे छलफल गरेको सार्वजनिक भएपछि राजनीतिक हलचल मच्चिएको थियो ।

नेता नेपालसँगै बूढानीलकण्ठ बैठकमा सहभागी भएका एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले त माधव नेपाल छिटै प्रधानमन्त्री बन्ने घोषणा नै गरेका थिए । ‘मुलुकमा नेतृत्वको ‘भ्याक्युम’ देखिएको छ । माधव नेपाल चाँडै प्रधानमन्त्री बन्नुहुन्छ त्यो एक दुई महिनाका लागि होइन लामै समयका लागि हो’, सचेतक चौधरीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पुगेका सञ्चारकर्मीसँग भने, ‘मुलुक सङ्कटपूर्ण अवस्थामा पुग्दा विगतमा पनि माधव नेपालले नै नेतृत्व गरेको इतिहास साक्षी छ ।’

नेता नेपाल विपक्षी मोर्चाको बूढानीलकण्ठ छलफलमा सहभागी भएको खबर सुन्नासाथ प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ र बिहीबार बिहानै नेता नेपाललाई फोन गरेर बुढानीलकण्ठ छलफलबारे चासो राखेका थिए ।

माधवको बुधवारको मुभमेन्टपछि बिहीबार बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । प्रचण्ड–खनालको बालुवाटार छलफलमा पनि माधवको मुभमेन्ट र सम्भावित राजनीतिमा आउने फेरबदलबारे चर्चा भएको थियो । एकीकृत समाजवादीभित्र अध्यक्ष नेपाल अझै कांग्रेससँगै सहकार्य गर्नुपर्छ भन्ने पक्षमा छन् भने खनाल वामपन्थी एकता र सहकार्यको पक्षमा उभिँदै वकालत गर्दै आएका छन् ।

अध्यक्ष नेपालको बूढानीलकण्ठ ‘हिमचिम’ र सत्ता समीकरण फेरबदलबारे चर्चा चुलिएपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको संसदीय दलमा समेत सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राख्न पुगेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सांसदहरूले नेता नेपालको मुभमेन्टले अन्योल बढेको भन्दै प्रचण्डसँग जिज्ञासा राखेका हुन् । सांसदहरूको जिज्ञासापछि प्रचण्डले अध्यक्ष नेपाल आफूसँग सल्लाह गरेरै बुढानीलकण्ठ गएको जवाफ दिएका थिए ।

 ‘यो सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशङ्का गर्नुपर्दैन । माधवजी उता (विपक्षी गठबन्धन) मा गएको भन्ने कुरा केही होइन’, संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको बुढानीलकण्ठ दौडबारे भनेका छन्, ‘उहाँ सल्ला गरेर नै जानु भएको हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने । दलको बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले माधव नेपाल बुढानीलकण्ठ जानुअघि आफूसँगै सल्लाह गरेर गएकाले विपक्षी अलाइन्स बनाउन गएको भनेर नबुझ्न आग्रह गरेका थिए ।

त्यस क्रममा प्रचण्डले आफू पनि केही दिनअघि देउवालाई भेट्न बूढानीलकण्ठ गएको स्मरण गर्दै भेटघाट हुँदैमा र नेताहरूबिच छलफल गर्दैमा राजनीतिमा केही फरक नपार्ने हुँदा सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका थिए ।

‘सरकार र सत्ता गठबन्धन तत्काल केही हुनेवाला छैन । तपाईँहरू ढुक्क हुनुस्’, प्रचण्डको भनाइ थियो । तर, प्रचण्डले नेता नेपाल बुढानीलकण्ठ जानुको कारणबारे भने खुलाएनन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेताहरूबिच भेटघाट हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताए ।

 ‘नेताहरूबिच भेटघाट हुनु सामान्य नै हो । जति हल्ला र चर्चा भएको छ त्यति धेरै आत्तिनुपर्ने अवस्था पनि छैन’, पौडेलको भनाइ छ । उनले माधव नेपाल विपक्षी मोर्चाको बुढानीलकण्ठ छलफलमा सहभागी हुन जानुमा मधेस सरकारबाहेक अरू केही नभएको आफूले बुझेको बताए । ‘विपक्षीहरूले मधेस सरकार जोगाउन उहाँको साथ खोजेको हुनसक्छ’  तर उहाँ (माधव नेपाल) अव सम्हालिनुहुन्छ’, पौडेलको भनाइ छ ।

एमाले भन्छ– बूढानीलकण्ठ छलफलको औचित्य छैन

सत्ता साझेदार दल नेकपा एमालेले भने अध्यक्ष नेपालको बूढानीलकण्ठ छलफलको कुनै अर्थ नभएको बताएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष नेपालको कहाँ जाने कहाँ नजाने भन्ने गन्तव्य प्रस्ट नभएको भन्दै प्रधानमन्त्रीले सल्लाहमै नेपाल बुढानीलकण्ठ गएको भनेर नेपालको छाला (इज्जत) जोगाइदिएको टिप्पणी गरे ।

‘माधव नेपालको गन्तव्य नै प्रस्ट छैन । प्रस्ट नभएकाले नै प्रधानमन्त्रीले उहाँ (नेपाल) को छाला जोगाइदिनुभएको हो’, नेता गौतमले रातोपाटीसँग भने,‘यो सरकारको मूल क्याप्टेन भनेको प्रधानमन्त्री हो ।’

सत्ता समीकरणमा रहेका कुन दललाई कति प्राथमिकतामा राख्ने, कुन राजनीतिक दल र नेतासँग भेटघाट गर्ने या नगर्ने भन्ने पनि प्रधानमन्त्रीकै विषय भएको नेता गौतमको भनाइ छ । 

यदि बाहिर आएझैँ नेता नेपालको पार्टी विपक्षी गठबन्धनमा सामेल हुने हो भने सबभन्दा पहिला आफ्नै पार्टीको निर्णय थाहा पाउनुपर्ने गौतमको भनाइ छ । 

गौतमको बुझाइमा नेपालको पार्टीमा बहुमत सदस्यहरू अहिलेकै गठबन्धनको पक्षमा रहेकाले पनि उनी बहुमत नेताको विपक्षमा जान सक्ने अवस्था छैन । 

‘राजनीतिक कोर्स एकातिर अघि बढेको छ उहाँ अर्कातिर हिँड्न खोजेर सम्भव पनि छैन’, गौतमको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप