साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिए ।
“चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उनले भने, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ । थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।”
साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९-८० र २०८०÷८१ का लागि रु २०–२० लाख बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताए ।
यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उनले बताए । गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ ।
पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताए । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । अन्ठाउन्न योजना उपभोक्ता समिति र दुईवटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण