सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बर्खा याममा हुन सक्ने स्वास्थ्य जोखिम र बच्ने उपाय

मङ्गलबार, २९ जेठ २०८१, ०७ : ४४
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । मनसुन अर्थात् बर्खा याम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । बर्खाको समय दूषित पानी र खानाका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।

विशेष गरेर यो समयमा हैजा, झाडा–पखाला, फुड पोइजन, ज्वरो, लगायत किटजन्य सङ्क्रमण रोग डेंगु र स्क्रब टाइफसजस्ता समस्या देखापर्छ । यस्तै, सर्पदंश, विषालु च्याउ उपभोगका कारणले मानव स्वास्थ्य प्रभावित हुने गरेको पाइन्छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बर्खा याममा खास गरी पानीजन्य रोग अधिक देखिन्छ । ‘बर्खामा झाडापखालाका लक्षण देखाउने कारक तत्व हैजालाई अली संवेदनशील भएर हेर्नुपर्छ,’ उनले भने, ‘काठमाडौँमा देखिइसकेको छ । ब्याक्टेरिया, भाइरस, प्रोटोजोवाका कारण झाडापखाला गराउने जुन समस्या छ, त्यो बिस्तारै बढ्दै गएको छ ।’

डा. पुनका अनुसार बर्खा याममा देखिने दुई वटा मुख्य किटजन्य रोग छन् । एउटा डेंगु र अर्को स्क्रब टाइफस । यी रोग देखा पर्न थालिसकेको उनले बताए ।

बर्खा याममा हुन सक्ने मानव स्वास्थ्य जोखिम र यसबाट बच्ने उपायबारे डा. पुनको सुझावः

  • हैजा

हैजा ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाले गराउने रोग हो । सामान्य भाषामा यसलाई हैजा भनेर बुझिन्छ । हैजा पानीमा दिसाजन्य पदार्थ मिश्रित हुँदा सर्ने गर्दछ । यसबाट बच्ने उच्चतम उपाय भनेको शुद्ध पानी पिउनु हो । १० दिनसम्म यसका लक्षण नदेखिन पनि सक्छ । कोहीलाई सामान्य लक्षण हुने भएकाले अस्पताल नजाने गरेको पनि पाइन्छ ।

हैजा लागेको व्यक्तिको दिसा ढलमार्फत खानेपानीमा मिसिएर आएमा यो रोग अरुमा सर्ने सम्भावना रहन्छ । सङ्क्रमित व्यक्तिको हातमा रहेका जीवाणु कुनै माध्यमबाट अरुले खानेकुरामा पुग्यो भने त्यस्तालाई पनि सङ्क्रमण हुन सक्छ । यसका साथै हैजा लागेको बिरामीले समयमै उपचार नपाए मृत्यु पनि हुन सक्छ । त्यसकारण हैजाको लक्षण देखिएमा तुरुन्तै अस्पताल लैजानु पर्छ ।

लक्षण

–हैजा लागेमा पातलो चौलानी पानीजस्तो दिसायुक्त झाडापखाला लाग्ने,

–एक्कासी बान्ता हुने,

–तिर्खा लाग्ने,

–पेट तथा खुट्टाका मांसपेशी बाउँडिने ।

जोगिने उपाय

–उमालेको वा निर्मलीकरण गरेको पानी मात्रै पिउने ।

–साबुन–पानीले हात पटक–पटक धुने ।

–खाना खानुभन्दा पहिला अनिवार्य हात धुने ।

–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

  • डेंगु

नेपालमा पछिल्लो पटक ६९ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । ६ महिना (जनवरी–जुन) अवधिमा ११ सय ५ जनाको परीक्षण गर्दा ६९ जिल्लाका मानिसमा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ ।

लक्षण :

–ज्वरो आउने,

–टाउको दुख्ने,

–आँखाको भित्री भाग दुख्ने,

–बान्ता आउने,

–रिङ्गटा लाग्ने,

–जिउ दुख्ने,

–गलेको महसुस हुने,

–साताभरमा शरीरमा राता बिमिरा आउने ।

जोगिने उपाय

–घरको वरिपरि पानी जम्न नदिने,

–पूरै शरीर ढाक्ने कपडा लगाउने,

–घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने,

–लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने,

–झ्याल ढोका बन्द राख्ने,

–आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्ने ।  

  • स्क्रब टाइफस

बर्खा याममा देखिने किटजन्य रोगमध्ये स्क्रब टाइफस पनि एक हो । यो रोग ‘ओरेन्सिया सुसुगामोसी’ नामक सङ्क्रमित किर्नाले टोकेपछि लाग्ने गर्छ । सो किर्ना प्रायः मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने गर्दछ । यो किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घरवरिपरिको झाडीमा देखिने गर्दछ ।

लक्षण

–किर्नाले टोकेपछि ज्वरो आउने,

–शरीरमा रातो बिमिरा आउने,

–शरीर दुख्ने जस्ता लक्षण देखिन्छ ।

जोगिने उपाय

–झाडी वा बारीमा जथाभावी नबस्ने,

–नाङ्गो खुट्टाले नटेक्ने,

–घरवरपर सफा राख्ने,

–खेतबारी जाँदा पन्जा प्रयोग गर्ने,

–शरीर ढाक्ने लामो कपडा लगाउने लगायत सतर्कता अपनाउन पर्छ ।

माथि उल्लेखित मुख्य रोग बाहेक वर्षाको समय विभिन्न स्वास्थ्य समस्या देखिने डा. पुनले बताए । झाडा–पखाला, फुड पोइजन, ज्वरो, बान्ता हुने लगायत मानवीय स्वास्थ्य समस्या हुन सक्ने उनको भनाइ छ । वर्षाका कारण ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुने सम्भावना हुन्छ । यसबाट विभिन्न स्वास्थ्य जोखिम हुने भएकाले उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानीमात्रै पिउन डा. पुनको सुझाव छ ।

यस्तै, पानी, बासी खाना खानाले फुड पोइजनिङ हुन सक्ने सम्भावना रहन्छ । ताजा र राम्ररी पकाइएको खाना उपभोग गर्न डा. पुनले सुझाए ।

  • सर्पदंशको जोखिम

बर्खा याममा देखिने अर्को समस्या हो सर्पदंश । मनसुनमा तराई तथा भित्री पहाडी क्षेत्रका केही जिल्लामा सर्पदंशको उच्च जोखिम हुन्छ । विज्ञका अनुसार नेपालमा वर्षको ६ महिना सर्पदंशको समस्या देखिने गरेको छ । वैशाखदेखि असोजसम्म प्रकोप हुने महिना हो । साउनमा महिनामा सर्पदंशको जोखिम बढी रहने राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलेजिस्ट डा. कृष्णप्रसाद आचार्यले बताए । सजगता अपनाएमा ९० प्रतिशत करेत सर्पको टोकाइबाट जोगिन सकिन्छ ।

सर्पले टोकेको लक्षण

–सामान्यतः पेट दुख्नेबाट सुरु हुन सक्छ,

–उल्टी हुने, बिस्तारै मांसपेशीलाई शिथिल बनाउँछ,

–आँखाको ढकनी बिस्तारै खोल्दा खुल्दैन,

––जिब्रो बाहिर निकाल्न सकिँदैन,

–थुक निल्न सकिँदैन,

–मुखभरि र्याल हुन्छ,

–बिस्तारै–बिस्तारै विष फैलदै गएमा सास फेर्न सकिँदैन ।

जोगिने उपाय

–सर्पको प्रकोपजन्य क्षेत्रमा बासोबास गर्नेले वैशाखदेखि असोजसम्म सर्पबाट सचेत रहने,   

–सुत्ने बेला झुल लगाउने,

–राति सुत्नु अगाडि ओछ्यान टकटक्याउने,

–भुइँमा नसुत्ने,

–राति बाहिर जाँदा बत्ती बालेर जाने,

–झाडीमा हिँड्नु प¥यो वा घाँस काट्नु पर्यो भने केही न केही आवाज दिने,

–घर वरिपरि सरसफाइ राख्ने,

–कुखुराको खोरहरूलाई घरभन्दा टाढा राख्ने,

–कुखुराको खोरमा नहेरी हात नलगाउने,

–एकदुई दिन थन्क्याएको जुत्तामा पनि सर्प आएर बसेको हुन्छ । जुत्ता टकटक्याएर लगाउने । –कुना काप्चामा हेरेरमात्रै हात हाल्ने ।

  •  विषालु च्याउको जोखिमबाट जोगिन सुझाव

बर्खा याममा मानव स्वास्थ्यमा विषालु च्याउको जोखिम पनि उच्च रहन्छ । वर्खा याममा जङ्गलमा कुहिएको मुढा, काठ, पात पतिङ्गर, खेत, बारी, चौर आदि ठाउँमा च्याउ उम्रन्छ । यी च्याउ खान हुने, खान नहुने र विषालु च्याउ आँखाले छुट्याउन नसक्ने भएकोले जथाभावी रुपमा च्याउ खान नहुने कृषि वैज्ञानिक वशिष्ठ आचार्यको सुझाव छ ।

च्याउ एक प्रकारको ढुसी हो । विश्वभर करिब १ लाख ४० हजार च्याउको प्रजातिमध्ये हालसम्म करिब १४ हजार प्रकारका च्याउ पत्ता लागेका छन् । यसमध्ये करिब ७ हजार च्याउ खाना योग्य भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को तथ्याङ्क छ । यीमध्ये २ सय प्रजाति च्याउ प्रयोगशालामा उमार्न सकिने आचार्यले बताए ।

हालसम्म १ हजार २९१ प्रजातिका च्याउ जङ्गली अवस्थामा छन् । जसमध्ये १ सय ५९ प्रजातिमात्र खानका लागि उपयुक्त छन् भने करिब १ सय प्रजाति विषालु र ७४ प्रजातिमा औषधीय गुण छन् । हालसम्म नेपालका विभिन्न स्थानबाट १ हजारभन्दा बढी च्याउ पत्ता लागेको छ । यसमध्ये १५ प्रतिशत च्याउ खान योग्य, ७ प्रतिशत औषधीय गुण भएको र १० प्रतिशत विषालु प्रकृतिका रहेको नार्कको तथ्याङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप