बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

युरोपले बढायो चिनियाँ विद्युतीय कारमा महसुल

बिहीबार, ३१ जेठ २०८१, १७ : २५
बिहीबार, ३१ जेठ २०८१

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले चीनबाट आयात हुने विद्युतीय कारमा महसुल बढाएको छ । चिनियाँ अटो उद्योगका लागि युरोप मुख्य बजार हो । त्यहाँ चिनियाँ कम्पनीहरूको वृद्धिको सम्भावना प्रचुर छ ।

तर यस्तो बजारले महसुल बढाएपछि चीन चिढिएको छ । ईयूले अहिले चिनियाँ विद्युतीय कारमा १० प्रतिशत आयात महसुल लगाइरहेको थियो । अब यो शुल्कमाथि अर्को १७ दशमलव ४ प्रतिशतदेखि ३८ दशमलव १ प्रतिशतबिच महसुल लाग्नेछ ।

अर्थात् चिनियाँ विद्युतीय कारमाथिको महसुल ईयूभित्र समग्रमा ५० प्रतिशत नजिक पुग्नेछ ।

चीन सरकारले विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई दिइरहेको सरकारी अनुदान र टेवाबारे छानबिन गरेपछि ईयूले यो निर्णय गरेको हो । अक्टोबरमा यूरोपेली अयोगले चीन सरकारले दिएको सहुलियतकै कारण चीनबाट ल्याइएका विद्युतीय सवारी साधनको मूल्य अप्राकृतिक रूपमै कम भएको हो कि भनेर अनुसन्धान थालेको थियो । चीनको ईभी उद्योगले अनुचित अनुदानको लाभ उठाइरहेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

चीनको विद्युतीय सवारी साधनका लागि युरोप मुख्य बजार हो । चीनबाट युरोपले सन् २०२० मा १ अर्ब ६० करोड डलरको विद्युतीय कार आयात गरेकोमा गएको वर्ष यसको आकार बढेर ११ अर्ब ५० करोड डलरमा उक्लिएको थियो ।

पछिल्लो समय थपिएको अतिरिक्त महसुलमा चीनको प्रतिक्रियाले ईयूसँग व्यापार युद्ध छेडिने विश्लेषण गर्न थालिएको छ । ईयूले अतिरिक्त महसुल थोपरेर व्यापार तनाव सृजना गरेको र यसलाई भड्काउन खोजेको चीनको वाणिज्य मन्त्रालयले भनेको छ ।

चिनियाँ कम्पनीका अधिकार र हितको रक्षाका लागि ईयूको पछिल्लो कदमको मजबुतीका साथ प्रतिक्रिया जनाउने एक विज्ञप्तिमा मन्त्रालयले वाचा गरेको छ । चीनमा कार बनाएर युरोपका बजारमा बेच्ने युरोपेली कम्पनीहरू पनि छन् । पछिल्लो निर्णयले यी कम्पनी पनि मारमा पर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप