बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मनसुन

सुरु भयो बाढी र पहिरोको सिजन : संखुवासभा र ताप्लेजुङ प्रभावित

नदी थुनिएपछि बनेको ड्याम बिस्तारै खुल्दै
बिहीबार, ३१ जेठ २०८१, २० : १७
बिहीबार, ३१ जेठ २०८१

विराटनगर । मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । सरकारी अधिकारीहरूले दिएका जानकारी अनुसार ती जिल्लाहरू वर्षाका कारण आएको बाढी, पहिरोका कारण डेढ सय बढी परिवार विस्थापित भएका छन् । 

संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरोले ३ घर बगाएको छ भने करिब १२५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । खाँदबारी ११ आङ्ला पहिरोले तीन घर बगाएको छ । यस्तै बुधबार रातिको वर्षाका कारण गएको पहिरोले मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको हो । 

यसैगरी खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा ११० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिँचाइ र हिंगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।

धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल पनि जोखिममा परेको छ । यस्तै खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएका छन् । पहिरोबाट विस्थापित बनेकाहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । त्यस्तै, संखुवासभाको चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे–नुम र ठुलोढुंगा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।

यस्तै ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएको पालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको हो । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधा घण्टा माथि झोलुङ्गे पुलमा पुग्नुपर्ने भएको छ ।

यस्तै सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको छ । तमोर थुनिएपछि त्रास बढेको उनले बताए । नदी थुनिएपछि ड्याम बनेको छ । यद्यपि थुनिएको तमोर बिस्तारै खुल्दै गएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप