बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

तस्करीको १ किलो सुन बेच्दा ३० हजार कमिसन

पाटनको ‘टन्च हाउस’ र न्युरोडको सुन रिफाइन गर्ने व्यापारी पनि जोडिए
सोमबार, ०३ असार २०८१, ०५ : ३५
सोमबार, ०३ असार २०८१

काठमाडौँ । सुन तस्करीमा पाटनको ‘टन्च हाउस’ र न्युरोडको सुन रिफाइन गर्ने व्यापारी पनि जोडिएका छन् । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुनबारे दोस्रो चरणको अनुसन्धानमा टन्च हाउस र सुन रिफाइन पसल सञ्चालकको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

काठमाडौँ उपत्यकामा सुनको गुणस्तर परीक्षण गर्ने ‘टन्च हाउस’ चलाउनेहरूलाई बम्बैया भनेर चिनिन्छ । तिनै बम्बैयाहरु तस्करीको सुन कारोबारमा संलग्न देखिएका हुन् । चिनियाँहरूसँग सुन लिएर भक्तपुर घर भएका राजु खत्रीले बम्बैयाहरुलाई सुन बेच्ने गरेका थिए ।  ३९ वर्षका राजु खत्री अहिले सीआईबीको हिरासतमा छन् । सूर्यविनायक–९ घर भएका खत्रीलाई सुन तस्कर समूहका सदस्यले राजु दाइ, भान्जा तथा राजु पलाँसे भनेर चिन्छन् ।

भारतीय नागरिक अमल कालाकपुटेले पाटनमा सञ्चालन गरेको टन्च हाउस र न्युरोड स्थित सङ्कटामा सुन रिफाइन पसल चलाउने अर्का भारतीय अविजित तानाजिमुलीलाई राजु जस्तै ‘एजेन्ट’ हरूले सुन दिन्थे ।

सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएका थिए । सुन तस्करीको उद्गम थलो हङकङबाट ५ जना चिनियाँले सुन पठाउने गरेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

तस्करीको १ किलो सुन बेच्दा चिनियाँले आफूलाई ३० हजार कमिसन दिने गरेको खत्रीले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार खत्रीले भनेका छन्–‘१ केजी सुन बेचेपछि चिनियाँले मलाई ३० हजार कमिसन दिन्थे ।’ सुनचाँदी व्यवसायी संघ बाराको अध्यक्ष शिव कुमार सर्राफलाई पनि खत्रीले नै सुन दिएका हुन् । सर्राफ अहिले सुन तस्करी प्रकरणमा कारागारमा छन् ।

सीआईबीले सङ्कटामा अविजित तानाजिमुलीको सुन रिफाइन कारखानामा काम गर्ने भारत महाराष्ट्र घर भएका २० वर्षीय सिद्धनाथ अशोक गायकवाड उर्फ सिद्धार्थ र २१ वर्षीय धिरज दिनेश वैटे ‘दिनेश’लाई पक्राउ गरेको छ । गायकवाड र वैटेको मोबाइलमा आकार परिवर्तन गरेको तस्करीको सुनको फोटो फेला परेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

पाटनस्थित टन्च हाउसमा कार्यरत महाराष्ट्र घर भएर ललितपुर महानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त गणेश वजवलकारलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बजवलकारले टन्च हाउस सञ्चालक अमल कालाकपुटेले भने अनुसार सुनको काम गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । टन्च हाउस र रिफाइन सञ्चालकले ग्राहकको माग अनुसार सुन टुक्रा बनाउने गरेका हुन् । सिद्धार्थले १० तोला दरको सुन काटेर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

पहिलो चरणको अनुसन्धान प्रतिवेद बुझाएपछि सीआईबीले विज्ञ समूह गठन गरेको थियो ।

सुन रिफाइन पसल सञ्चालक अविजित तानाजिमुली र चिनियाँ सुन तस्कर चोङ चिङ छ्वान उर्फ श्याम प्रत्यक्ष सम्पर्कमा थिए । अहिले फरार भएका श्याम हङकङबाट सुन पठाउने समूहका सदस्य र ‘लाजिम्पाट समूह’को प्रमुख हुन् ।  

सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएका थिए । सुन तस्करीको उद्गम थलो हङकङबाट ५ जना चिनियाँले सुन पठाउने गरेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ । चिनियाँ नागरिक लिन, मिस लि, आसिन भनेर चिनिने पेङ योङ सिन, श्याम भनिने चोङ चिङ छ्वान र दाओजिन वाङले हङकङबाट सुन पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

न्यूरोड स्थित ‘एनडी डायमण्ड’ सञ्चालक कमल कान्त कुल्थिया पनि सुन तस्करीमा संलग्न देखिएका छन् । उनी २०६९ मा हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । ६० किलो सुन प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

  • ३ हजार १९४ केजी तस्करी गरेको निष्कर्ष

६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ केजी सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । काठमाडौँका विभिन्न स्टोरबाट बरामद गरिएको स्मार्ट वाच, पानी तान्ने मेशिन, दाह्री काट्ने मेशिन र ब्रेक प्याडको गहिराई विश्लेषण गरेर विज्ञ समूहले सो निष्कर्ष निकालेका हुन् ।

पहिलो चरणको अनुसन्धान प्रतिवेद बुझाएपछि सीआईबीले विज्ञ समूह गठन गरेको थियो । विज्ञ समूहले दिएको प्रतिवेदनमा बरामद भएका सामानको गहिराई विश्लेषण गर्दा ३ हजार १९४ केजी सुन ल्याएको उल्लेख छ ।

दोस्रो चरणको अनुसन्धानमा १७ जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी श्याम लाल ज्ञवालीले रातोपाटीलाई बताए ।

  • हिरासतमा को–को ?

१. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र ।

२. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र

३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र ।

४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६ ।

५. राजु खत्री, सूर्यविनायक नगरपालिका–९ ।

६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन सञ्चालक)

७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५ ।

८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४ ।

९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु ।

१०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि) ।

११. प्रज्ज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)

१२. सुरज शम्शेर जबरा, पेवेल नेपाल (सञ्चालक समिति सदस्य)

१३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)

१४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)

१५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)

१६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)

१७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप