बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अधिकारको लडाइँमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ : पूर्व मुख्यमन्त्री अधिकारी

शनिबार, ०८ असार २०८१, २१ : १८
शनिबार, ०८ असार २०८१

पोखरा । गण्डकी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन् । प्रेस क्लब गण्डकीको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरामा आज आयोजित पत्रकार क्षमता अभिवृद्धि ‘फिचर लेखन तथा भाषाशैली’ तालिमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका अधिकारीले प्रदेश, सङ्घ र स्थानीय सरकार जनप्रतिनिधिसँग जनताको अपेक्षा धेरै रहनु स्वाभाविक भएको बताए । मुलुकको प्रत्येक अधिकारको लडाइँमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अबका दिनमा सङ्घीय लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासङ्घ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरिसकेको भन्दै समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिए । महासङ्घ कास्कीका सचिव माधव बरालले भाषाशैलीसम्बन्धी तालिमले पत्रकारलाई समाचार सम्प्रेषणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका संस्था वा व्यक्तिलाई नगद रु ५० हजारसहित सम्मान गर्ने बताउँदै तालिमका उत्कृष्ट फिचर लेख्ने एकजना पत्रकारलाई रु १० हजार नगदसहित सम्मान गरिने जानकारी दिए । तालिममा पत्रकारितामा फिचर लेखन र भाषशैलीबारे केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप