एकीकृत समाजवादीको महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाएर चुनावी प्रक्रिया थाल्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता,झालनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले पेस गरेका विभिन्न प्रतिवेदनमाथि छलफल सकेर निर्वाचन प्रक्रियामा प्रवेश गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
असार १६ गतेबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन असार १७ गते अध्यक्षको राजनीतिक, सम्मानित नेताको समाजवादी कार्यक्रम, उपाध्यक्षको सांगठानिक प्रतिवेदनहरू एउटै बनाएर पेस गरिएको थियो । ती प्रतिवेदनमाथि १२ समूह बनाएर छलफलपछि निष्कर्ष सुनाउने क्रम बुधबार बिहानैबाट सुरु भएको छ ।
‘प्रतिवेदनमाथिको निष्कर्ष सुनाएर आजै बेलुका निर्वाचन मण्डल घोषणा हुन्छ, त्यसपछि नेतृत्व छनोटका लागि काम सुरु हुन्छ’, नेता पाण्डेले भने, ‘अध्यक्ष, सम्मानित नेता र महासचिवमा लगभग सहमति जुट्ने क्रममा पुगेका छौ ।’
अध्यक्षमा माधव नेपाल दोहोरिन चाहिरहेका छन् भने महासचिव भुसालले उनलाई टक्कर दिने तयारी गरेका छन् । तर अधिकांश महाधिवेशन प्रतिनिधिहरू सर्वसहमत नेतृत्व छान्नुपर्ने भएकाले नेता नेपाल नै सर्वसम्मत अध्यक्ष चयन हुने सम्भावना बढेको नेताहरुले बताएका छन् । महाधिवेशनमा देशभरका १८ सय महाधिवेशन प्रतिनिधिहरू भाग लिन काठमाडौँ आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण