मङ्गलबार, ०१ असोज २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

केपी ओली सत्तामा पुगेपछि माधव नेपाललाई त्रास !

शुक्रबार, ११ साउन २०८१, १८ : ५६
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । नेपालका प्रायः राजनीतिक दल र तिनका नेताहरू सत्तामा हुँदा राजनीतिक स्थिरतासहित विकास र समृद्धिको हाँक दिन्छन् तर सत्ता बाहिर पुग्ने बित्तिकै उनीहरू नै ‘षड्यन्त्र’ भएको देख्छन् र ठान्छन् । यो क्रम २०४६ पछि निरन्तर देखिँदै आएको हो । 

यसअघि एमाले–माओवादीसहितको सरकार बन्दा नेपाली कांग्रेसले त्यो प्रवृत्तिको चस्मा लगाएको थियो भने त्यस अघि कांग्रेस र माओवादी नेतृत्वको सरकार बन्दा एमालेले त्यस्तो षड्यन्त्र भइरहेको देख्ने गर्थ्यो ।

पछिल्लो सत्ता समीकरणमा फेरबदलपछि नेपाली कांग्रेस र एमालेको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको छ । ओली नेतृत्वको सरकार बनेपछि कांग्रेस–एमालेले राजनीतिक स्थिरता देखिरहेका बेला सत्ता बाहिर रहेका दलहरूले भने ‘षड्यन्त्र’ देखिरहेका छन् ।

उदाहरणका लागि नेकपा एमालेबाट झण्डै तीन वर्षअघि ओली प्रधानमन्त्री भएकै बेला विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिलाई लिन सकिन्छ ।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध भयानक षड्यन्त्र भइरहेको भनेर पार्टीपंक्तिमा तरङ्ग ल्याउने प्रयास गरे । तर उनले कसले र किन आफ्नो पार्टीविरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कुरा खोजी र विश्लेषणकै विषय रहेकाले नेता कार्यकर्ताहरूलाई सजग बन्न निर्देशन दिए ।

‘हाम्राविरुद्ध अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा सुन्नमा आइरहेको छ’, उनले भने, ‘त्यो कति सत्य हो, कति असत्य हो ? थाहा छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सुन्नमा आएका कुराहरू कति सत्य र कति असत्य हुन् भन्ने कुरा ‘भनेर’ पनि नहुने भएकाले खोल्न जरुरी नरहेको बैठकमा सुनाएका थिए ।

‘लेखेर र बोलेर पनि हुँदो रहेनछ । त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ’, अध्यक्ष नेपालले भइरहेका षड्यन्त्रका बारेमा जानकारी हासिल गर्नुपर्ने र त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

‘यसअर्थमा विभिन्न राजनीतिक दलहरू र राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ,’ अध्यक्ष नेपालको आशय थियो । यसअघि एमाले माओवादी समीकरणमार्फत प्रचण्ड प्रधानमन्त्री भएका बेला नेता नेपालको पार्टी पनि सरकारमा थियो । तर असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सात बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेसँगै माधव नेपालको पार्टी प्रतिपक्षमा पुगेको छ ।

ओलीले साउन ६ गते विश्वासको मतका लागि गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै गर्दा पनि अध्यक्ष नेपालले ढुक्क हुने अवस्था नरहेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै अध्यक्ष नेपालले राजनीतिक स्थिरताका नाममा दुई ठुला दल मिल्नु नराम्रो नभए पनि मुलुकले अर्को ‘जंगबहादुर’ नखोजेको धारणा राखेका थिए ।

त्यसक्रममा नेता नेपालले शालिन र भद्र शैलीमा शक्तिको केन्द्रीकरणबाट ‘स्वेच्छाचारिता’ जन्मिने खतरा कायमै रहेको भन्दै विगतमा ओलीले दुईदुई पटक गरेको संसद् विघटनको स्मरण गराएका थिए । 

के हुनसक्छ माधवले बुझेको षड्यन्त्र ?

खासगरी माधव नेपालको पार्टी अझै स्थिर भइसकेको छैन । गएको निर्वाचनमार्फत प्रतिनिधि सभामा १० सिटसहित उपस्थिति जनाएको नेपालको पार्टी राष्ट्रिय दल बन्नसमेत सकेन ।

राष्ट्रिय पार्टी बन्न नसकेपछि यसका नेता कार्यकर्ता कोही एमाले त कोही माओवादीमा आउने जाने क्रम जारी नै छ । पार्टीभित्रको सन्तुलन मिलाउन कठिन छ । यही बेला दुई ठुला दल मिलेर संविधान र ऐन, कानुन नै संशोधन गर्नसक्ने भय नेपालमा देखिन्छ ।

त्यसको प्रत्यक्ष असर आफ्नो पार्टीलाई पर्न सक्ने लेखाजोखा गरेर नेता नेपालले पार्टी बैठकमा सङ्केतस्वरुप त्यही कुरा अभिव्यक्त गरेको हुनसक्ने विश्लेषक श्याम श्रेष्ठको भनाइ छ ।

सरकार चलाउनमात्र नभई ठुला दल आउने चुनावमा समेत मिलेर गएको खण्डमा साना दल र तिनका नेताहरूले आफ्नो भविष्य खतरामा पर्ने सोच्नु स्वाभाविक रहेको श्रेष्ठको बुझाइ छ ।

‘सरकार चलाउने सवालमामात्र नभई चुनावमा समेत ठुला दल मिलेको खण्डमा साना दल स्वाभाविक रूपमा कमजोर बन्न पुग्छन्’, श्रेष्ठले भने, ‘यस आधारमा साना दल सशङ्कित बन्न सक्छन् ।’

एमाले अध्यक्ष ओली र नेता नेपालबिच राम्रोसँग बोलचालसमेत नभएको अवस्थामा ओली सत्तामा पुगेपछि अरूलाई भन्दा बढी त्रास नेपालमा हुनु विश्लेषक श्रेष्ठ स्वाभाविक ठान्छन् । श्रेष्ठको बुझाइमा नेपाल नेतृत्वको पार्टीमात्र नभएर अरु साना दल पनि मुख्य पाँच कारणले त्रसित बन्न सक्छन् ।

के हुन् पाँच कारण ? 

१.ठुला दलबिच गठबन्धन गरेर सानालाई निषेध गर्ने ।

२.बहुमतको बलमा आवाज नसुन्ने ।

३.अध्यादेश ल्याएर पार्टी फुटाइदिने ।

४.विभिन्न मुद्दा लगाएर नेताहरू फसाइदिने ।

५.संविधान संशोधन गरेर थ्रेस होल्ड प्रतिशत बढाउने । 

त्यसो त सत्तारुढ दल एमालेका महासचिव शंकर पोखरेलले केही दिन पहिला थ्रेसहोल्ड ५ देखि १० प्रतिशतसम्म बनाउन जरुरी रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । महासचिव पोखरेल पछिल्लो समय राजनीतिक स्थिरताका लागि दुई दलीय प्रणालीको चर्को वकालत गर्दै आएका नेता पनि हुन् ।

हाल पार्टी राष्ट्रिय पार्टी बन्न कुल खसेको मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे अध्यक्ष नेपालले केही न केही बुझेर नै सङ्केत गरेको हुन सक्ने बताउँछन् । यद्यपि अध्यक्षले बोलेका विषयमा आफूले व्याख्या गर्नु उचित नभएको पाण्डेको भनाइ छ ।

‘जहिले पनि ठुला पार्टीले सानालाई आफू अनुकूल प्रयोग गर्न खोज्छन् । त्यसरी प्रयोग गर्न के गर्दा सहजता हुन्छ, त्यो विधि र बाटो पनि उनीहरू अपनाउँछन्’, पाण्डेले भने, ‘त्यो विधि र प्रक्रिया फरकफरक हुनसक्छ ।’

उनले ठुला दल मिलेर साना पार्टी विभाजन गर्नेदेखि ती पार्टीभित्र भाँडभैलो मच्चाइदिनेसम्मका काम हुनसक्ने अवस्था नआउला भन्न नसकिने बताए ।

केही समयअघि मात्र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारमै रहेको बेला विभाजन हुन पुगेकाले पनि पाण्डेको भनाइमा केही अंश सत्यता रहेको पुष्टि हुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला र जसपा नेपाल सरकारमै रहेको अवस्थामा पार्टी विभाजन हुन पुग्नुलाई धेरैले सत्तारुढ दलतर्फ सङ्केत गरेका थिए । ‘साना पार्टीहरू शान्तिपूर्ण ढङ्गले राजनीतिमा उत्रँदा समेत खतरा भइरहन्छ’, पाण्डेको भनाइ छ । उनले सत्तामा रहेका ठुला दललाई साना दलको कुनै कुरामा चित्त नबुझे जे पनि गरिदिन सक्ने विगतको अनुभवले देखाएको बताए ।

पाण्डेको भनाइमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहमत छन् । उनले राजनीतिमा ‘मत्स्य न्याय’ को सिद्धान्त लागु भइरहेको बताए ।

‘त्यो भनेको ठुलो माछाले साना माछालाई खाने । उसको अस्तित्व नस्वीकार्ने’, यादवले रातोपाटीसँग भने, ‘नेपालका ठुला राजनीतिक दलहरू मत्स्य न्यायको सिद्धान्तमा चलेका छन् ।’

राज्यको चरित्र ठुला पार्टीहरूको सोच नबदलिएसम्म यो खतरा रहिरहने अध्यक्ष यादवको भनाइ छ । उनले देशमाथि नै खतरा रहेको अवस्थामा पार्टीको कुरा गौण भएको पनि बताए ।

‘देश नै खतरा मुक्त भैसकेको छैन, बरु थप खतरातर्फ उन्मुख भइरहेको छ’, यादवले भने । ठुला दलले सत्तामा गएर स्थिरता र समृद्धि भने पनि उनीहरूका गतिविधिले त्यसबाटोमा मुलुक नहिँडेको यादवको दाबी छ ।

‘२०४६ सालदेखि त्यही भन्दै आएका हुन् । ३३/३४ वर्षसम्म उनीहरूले गरेको त देखिएकै छ नि । अब बाँकी देखाउन केही छ र ?’, अध्यक्ष यादवको प्रश्न छ । दुई दलीय प्रणालीको वकालत हुनुलाई यादवले ‘राजनीतिक दिवालीयापन’को संज्ञा दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप