मङ्गलबार, ०१ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी पीडित आन्दोलनको तयारीमा

बिहीबार, ३१ साउन २०८१, ०९ : २२
बिहीबार, ३१ साउन २०८१

बुटवल । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरू आन्दोलनको तयारीमा जुटेका छन् । लामो समयदेखि बचत फिर्ता नभएको भन्दै उनीहरू दबाबमुलक कार्यक्रमको तयारीमा जुटेका हुन् ।

सुप्रिम सहकारीका एक हजारभन्दा धेरै बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् ।

बचतकर्ताको रकम हिनामिनागर्ने गितेन्द्रबाबु(जीबी) राईलाई पक्राउ गर्न, सुप्रिमबाट संस्थागत रूपमा रकम लगिएको गोर्खा मिडिया नेटवर्क र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलन गर्न बाध्य भएको बचतकर्ता विमला शर्माले रातोपाटीलाई बताइन् ।

उनले दाङ पुगेर कृषि तथा सहकारी सचिवलाई ज्ञापनपत्र दिँदै बङ्गलादेशको जस्तो आन्दोलन गर्नु नपरोस् भन्ने चेतावनी दिएको रातोपाटीलाई बताइन् । बुटवलबाट ५ सयभन्दा बढी सहकारी पीडित आन्दोलनका लागि आइतबार दाङ पुगेका थिए ।

सुप्रिम सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजयकुमार नेपालले सुप्रिमबाट झण्डै १३ करोड ४० लाख रुपैयाँ रकम लैजाने गोर्खा मिडिया नेटवर्कको लगानी, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेको खर्चको स्रोत र कारोबारको छानबिन गर्नुपर्ने अबको एजेन्डा हुने बताए ।

उनले छिटै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर ज्ञापनपत्र बुझाउने योजना रहेको खुलाए । त्यसपछि भदौ दोस्रो सातामा सहकारी पीडितको प्रदर्शन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलाई काठमाडौँमै पुगेर भेट गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ ।

बुटवलको राजमार्ग चौराहामा कार्यालय रहेको सुप्रिम सहकारीमा बचतकर्ताहरूबाट सङ्कलन भएको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको थियो । 

32e1f59c-60f9-4059-b913-e4d152755819

सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सचिव कुमार रम्तेल, भूपेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कसहित २८ जनाले बचत अपचलन गरेको देखिएको भन्दै प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने अहिले अध्यक्ष ओम गुरुङ थुनामा छन् ।

प्रहरीले बनाएको प्रतिवेदनमा रवि लामिछानेले पनि सुप्रिम सहकारीबाट बैंकमार्फत रकम ट्रान्सफर गराएर २ करोड लगेको अनुसन्धानले देखाएको छ । संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारी पीडितहरूका तर्फबाट सङ्घर्ष समितिका संयोजक नेपाल, सचिव देवीलाल भट्टराई र पीडित एवं सहकारी विज्ञ सन्तराम भट्टराईलाई काठमाडौँमै बोलाएर सोधपुछ गरेको थियो ।

abea8578-9a73-43df-b99e-a844aa1a538b

सहकारीका १ हजार ८३१ बचतकर्ताले रकम ठग्नेहरूलाई कारबाही र आफूहरूको बचत फिर्ताको काम गर्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी रञ्जित सिंह राठोरले बताए । उनले आफूहरूले प्रतिवेदन सहकारी वकिलको कार्यालय बुझाएपछि नै मुद्दा चलेकाले अब अदालतबाट आउने आदेश कुर्नुको विकल्प नरहेको बताए ।

Screenshot_2024-08-11-20-21-18-47_be80aec1db9a2b53c9d399db0c602181 (2) (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप