सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फलोअप

दावा लामाको विषयमा राखेपले एन्फालाई दोस्रो पत्र पठायो

बिहीबार, ०६ भदौ २०८१, १६ : १८
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । लागू औषध बेचबिखन तथा सञ्चय कसुर मुद्दामा सजाय पाएका दाबा लामाको विषयलाई लिएर नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पुनः पत्राचार गरेको छ ।

यस विषयमा राखेपले एन्फासँग दोस्रो पटक पत्राचार गरेको हो । यसअघि २०८० साल चैत २५ गते पनि राखेपले यही विषयलाई लिएर एन्फालाई पत्र पठाएको थियो । यसअघिको पत्रको जवाफ नर्फकाएको भन्दै राखेपले बिहीबार एन्फालाई पुनः पत्राचार गरेको हो ।

राखेपले बिहीबार पठाएको पत्रमा ‘सत्य तथ्य विवरण पेस गरी आवश्यक जानकारी गराउने’ भन्दै तीन दिनको समय दिएको छ । राखेपबाट पठाइएको पत्रमा सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले हस्ताक्षर गरेका छन् ।

एन्फाका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले दाबा लामामाथि कारबाहीको माग गर्दै २०८१ साउन ३० गते राखेपमा निवेदन दिएको पनि पत्रमा उल्लेख गरिएको छ । दाबा लामा पनि हाल एन्फाकै उपाध्यक्ष हुन् ।

दाबा लामाविरुद्ध लागू औषध बेचबिखन तथा सञ्चय सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) बाट कैद सजाय र आर्थिक जरिवानाको फैसला भएको तर, उनले आफूविरुद्ध भएको फैसलालाई लिएर हद म्यादभित्र सर्वोच्च अदालतमा कुनै पुनरावेदन नगरेको आरोप उनीमाथि लगाइएको छ ।

पुनरावेदन अदालतबाट भएको फैसला उपर कानुन बमोजिम तोकिएको हद म्यादभित्र पुनरावेदन नगरेको अवस्थामा सोही फैसलालाई नै अन्तिम मानेर त्यहाँबाट ठहर भएको सजाय र आरोपलाई स्वीकार गरेको मानिने भएकाले दाबा लामा एन्फाको उपाध्यक्ष पदमा बस्न अयोग्य रहेको दाबी उजुरीमा गरिएको छ ।  

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २२ को उपदफा ५ को देहाय (ङ) मा भएको कानुनी व्यवस्था बमोजिम दाबा लामा कुनै पनि खेल सङ्घमा निर्वाचित, मनोनीत वा बहाल रहन सक्ने अवस्था नभएको दाबी गरिएको छ ।

यसअघि २०८० चैत २५ गते राखेपले एन्फालाई पठाएको पत्रमा सात दिनभित्र लिखित जवाफ फर्काउन निर्देशन दिइएको थियो । तर, लामो समय एन्फाबाट कुनै जवाफ नआएपछि बिहीबार पुनः राखेपले अर्को पत्र पठाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप