मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'गर्ल्स रिराइटिङ डेस्टिनी' को विशेष प्रदर्शनी

मङ्गलबार, ११ भदौ २०८१, ०९ : ३५
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । गन्जला चुलीमा २७ जना महिलाको उल्लेखनीय आरोहणलाई चित्रण गरिएको वृत्तचित्र फिल्म 'गर्ल्स रिराइटिङ डेस्टिनी' छायासेन्टर ठमेलमा आयोजित विशेष कार्यक्रममा देखाइएको छ । सोमबार विश्व समावेशी साहसी संस्थाको आयोजनामा भएको कार्यक्रममा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाहरूको प्रेरणादायी यात्रालाई प्रस्तुत गरिएको थियो ।

३४ मिनेटको वृत्तचित्रले दक्षिण-पूर्वी मोहडाबाट पहिलो पटक गन्जला चुली छुने प्रयासमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टिमले गरेको प्रयासको वर्णन गरिएको छ । वृत्तचित्रले काठमाडौँसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाका महिलाहरूले सामना गर्नुपरेका कठिन चुनौती र विजयलाई चित्रण गरेको छ । 

वृत्तचित्र प्रदर्शनीपछि सिन्धुपाल्चोक वरपरका हिमाल र माया गुरुङको पर्वतारोहणमा भइरहेको प्रयासका बारेमा चर्चा गरिएको थियो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले दिगो पर्यटन, वातावरण संरक्षण र महिला सशक्तीकरणमा गुरुङको योगदानको प्रशंसा गरेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणाले वृत्तचित्रले राष्ट्रको अवस्थाप्रति निराश बन्दै गएका नेपाली युवाका लागि आशा र प्रेरणाको ज्योति बनेको उल्लेख गर्दै पर्यटनमा महिला रोजगारीको महत्वलाई जोड दिएका थिए । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, प्रा. चिरञ्जीवी खनाल, मोहन श्रेष्ठ, प्रदीप कुमार उदय, हरि थापा, प्रदीप पोखरेल, ओमकृष्ण प्रसाईँ, उत्तम केसी, सुमन रिमाल, माधवप्रसाद तिवारीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा आरोहीहरूको उपलब्धि मात्र नभई नेपालमा महिला सशक्तीकरण र पर्वतारोहणका लागि उनीहरुले गरेको व्यापक प्रयासको प्रशंसा गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घले गन्जला चुली आरोहण गर्ने महिला आरोहीहरूलाई उनीहरूको उपलब्धिको कदर गर्दै प्रमाणपत्र प्रदान गरेको थियो ।

यस वृत्तचित्रलाई अनुभवी फिल्मकर्मी लव प्याकुरेलले निर्देशन र सम्पादन गरेका हुन् । उनले यो वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्य सान्दर्भिक मञ्चमा प्रदर्शन गर्ने योजना रहेको बताए । रमेश धमला, देवु राजवंशी र मनमाया तामाङको छायाङ्कन रहेको वृत्तचित्रमा भिएफएक्स मानबहादुर थापा र कलर ग्रेडिङ अच्युत बजगाईले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप