आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय
खेल संरचना

‘पूर्वाधारका कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्नुपर्ने अवस्था छैन’

मङ्गलबार, १८ भदौ २०८१, ०७ : २८
मङ्गलबार, १८ भदौ २०८१

सुर्खेत । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना न्यून देखिएको छ ।

आयोजक केन्द्र सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल पनि प्रतियोगिता समयमा गर्ने पक्षमा देखिँदैनन् ।

सरकार पक्ष नै, त्यसमा पनि केन्द्र सरकार कर्णालीमा पहिलो पटक हुने उक्त प्रतियोगिता निर्धारित समयमै गर्न प्रतिबद्ध देखिएको छैन । त्यसो हुनुका पछाडि केन्द्र र प्रदेशका खेलकुद परिषदको सदस्यसचिव हटाउने खेल भइरहेको चर्चा छ ।

सरकार पक्षधर नेताहरू खेल पूर्वाधार पूरा नभएको र त्यसको सुनिश्चितता भएपछि पुनः मिति तोक्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।

तर कर्णाली प्रदेश खेलकुद परिषद्ले पूर्वाधारका कारण प्रतियोगिता सार्नुपर्ने, रोक्नुपर्ने कुनै कारण नरहेको दाबी गरेको छ । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल पूर्वाधारका कारण प्रतियोगिता नरोकिने बताउँछन् ।

रातोपाटीसँग उनले भने, ‘पूर्वाधारको कारणले प्रतियोगिता रोकिन्न । सङ्घीय मन्त्री आएर १५ दिनको प्रगति हेरेर कार्ययोजना बनाइ अघि बढिएको छ ।’

कर्णालीमा २४ वटा जति खेल आयोजना हुने भन्दै उनले त्यसका लागि पूर्वाधार पर्याप्त रहेको दाबी गरे । ‘भइरहेका संरचनाको सामान्य मर्मत गर्ने कामबाहेक सबै तयारी पूरा भइसकेको छ,’ उनले भने ।

निर्माणाधीन रङ्गशालाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । असोज मसान्तसम्म सम्पन्न भएर पनि उक्त रङ्गशालामा कर्णालीका खेलाडीहरूले तालिमसमेत गर्न पाउने सञ्ज्यालले बताए । यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनको भनाइ छ । त्यस बाहेकका खेलका लागि पनि अन्य केही मैदान तयार भइसकेका छन् ।

तीन वटा क्रिकेट मैदानको काम सम्पन्न भइसकेको छ । सुर्खेतमा दुई र एउटा रुकुम पश्चिममा मैदान बनेका छन् । वीरेन्द्रनरभित्रै बनेका दुई वटै क्रिकेट मैदान सञ्चालनमा आइसकेका छन् । ७ सय मिटरको दुरीमा बनेका ती मैदानमा पुरुष तथा महिला क्रिकेट प्रतियोगिता गरिने छ ।

आयोजना राखेपको भए पनि प्रदेश खेलकुदबाट समयमा गर्नका लागि आफूहरूले तयारी तीव्र पारिरहेको उनको भनाइ छ । १० हजार दर्शकको प्यारापिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ ।

सञ्ज्यालले भने, ‘पूर्वाधारका कारणले सार्नुपर्ने, सर्नुपर्ने स्थिति रहँदैन । अरु कुनै कारणले सार्ने हो भने थाहा भएन ।’

तीन वटा क्रिकेट मैदानको काम सम्पन्न भइसकेको छ । सुर्खेतमा दुई र एउटा रुकुम पश्चिममा मैदान बनेका छन् । वीरेन्द्रनरभित्रै बनेका दुई वटै क्रिकेट मैदान सञ्चालनमा आइसकेका छन् । ७ सय मिटरको दुरीमा बनेका ती मैदानमा पुरुष तथा महिला क्रिकेट प्रतियोगिता गरिने छ ।

रुकुम पश्चिममा बनेको मैदानलाई प्रशिक्षणका रूपमा प्रयोग गर्न सकिने छ । अन्य केही खेल सुर्खेत बाहेक अन्य जिल्लामा पनि खेलाउन सकिन्छ । तर त्यो निर्णय गर्ने अधिकार आयोजक राखेपको भएको सञ्ज्याल बताउँछन् ।

तर सरकार पक्षधर नेता तथा जनप्रतिनिधिहरू कि सदस्यसचिवको कार्यकाल सकिएपछि आयोजना गर्ने, नभए सदस्यसचिव हटाउने तयारीमा रहेको स्रोत बताउँछ । ‘त्यसो गर्नुका पछाडि प्रतियोगिताको जस लिने होडबाजी हो,’ स्रोत भन्छ, ‘मुख्यमन्त्री कँडेल वीरेन्द्रनगरकै भए पनि उनी प्रदेशकै गौरवको आयोजना रङ्गशाला निर्माणको तयारी गर्दा प्रतिपक्षमा थिए । अहिले प्रतियोगिता गर्दा त्यसको नेतृत्वमा आफ्नो दलको व्यक्ति होस् भन्ने उहाँले चाहिरहनु भएको छ ।’

अहिलेका खेलकुद सदस्यसचिवलाई तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै ल्याएका हुन् । त्यसैले उनलाई माओवादी निकट मान्ने गरिएको छ ।

कँडेलले एक सार्वजनिक कार्यक्रममै आयोजना केन्द्रको भएको र प्रतियोगिता समयमा नहुन पनि सक्छ भनेर भनेपछि प्रतियोगिता हुने सम्भावना कम रहेको सरोकारवाला बताउँछन् । कँडेलले सार्वजनिक कार्यक्रममै भने, ‘तयारीको लागि परिषद्का सदस्यसचिवले बजेट माग्न अन्त धाउन आवश्यक छैन । केही काम पर्दा मलाई सोध्नू, प्रतियोगिता समयमा हुन नसक्छ ।’

कँडेल उक्त खेलकुद प्रतियोगिताको जस आफू लिन चाहन्छन् । तर अहिले खेलकुद परिषदको विभागीय मन्त्रालय (सामाजिक विकास मन्त्रालय) कांग्रेसले सम्हालेको छ भने सदस्य सचिव माओवादीको ।

कँडेलले यसअघि नेकपा एमाले–माओवादी गठबन्धन हुँदा पनि सामाजिक विकास मन्त्रालय आफूसँग राख्न चाहेका थिए भने कांग्रेस–एमाले गठबन्धन बनेपछि पनि उक्त मन्त्रालयमा दाबी गरेका थिए । तर कांग्रेस, माओवादी दुवैले एमालेलाई सो मन्त्रालय दिएनन् ।

कँडेलले केही दिनअघि सुर्खेत आएका केन्द्रीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी समक्ष पूर्वाधारको सुनिश्चितता भएपछि प्रतियोगिताको मिति पुनः तोक्न सुझाव दिए । कँडेलले नै त्यसो भनेपछि चौधरीले पनि पूर्वाधारको सुनिश्चितता भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने जवाफ दिए ।

मन्त्री चौधरीले संरचनाको विषयमा भदौ २० गते मात्रै निर्णय लिने भनेपछि प्रतियोगिता अन्योलमा छ । उनले आफूलाई दैनिक रिपोर्ट गर्न भनेर एक इञ्जिनियरलाई रङ्गशालामा खटाएका छन् ।

सुर्खेतबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले खेलकुद आयोजना समयमा हुन नदिने गरी सदस्यसचिवलाई बर्खास्त गर्न सरकार नै लागिरहेको भन्दै विरोध जनाए । उनले मंसिर २ गतेबाटै प्रतियोगिता सञ्चालन गर्नेगरी सरकारले ध्यान दिनुपर्ने बताए ।

मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद परिषद्ले १०० दिने काउन्टडाउन सुरु गरेकोमा समेत विरोध जनाए । प्रदेश खेलकुद परिषद्ले केन्द्र सरकार, राखेपलाई समयमै १०औँ खेलकुद प्रतियोगिता गर्न दबाब दिने उद्देश्यसहित १०० दिन बाँकी रहँदा काउन्टडाउन सुरु गरेको थियो ।

सो अवसरमा कर्णालीमा खेलाउन सकिने खेल तालिका सार्वजनिक गरिएको थियो भने तयारी तीव्र बनाउन अभियान सुरु भएको सन्देश दिएको थियो । तर मुख्यमन्त्री कँडेलले त्यसको विरोध जनाए । उनले भने, ‘यो आयोजना प्रदेश सरकारले गर्न लागेको हैन, केन्द्र सरकारले गर्न लागेको हो, दिन गन्ने कुरामा नलाग्नुहोस् ।’

मुख्यमन्त्रीले असहयोग गर्नुको पछाडि समयमा प्रतियोगिता नगर्नु या सदस्यसचिव हटाउने सन्देश मुख्य कारण रहेको विपक्षी दल माओवादीको बुझाइ छ । सुर्खेतबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले खेलकुद आयोजना समयमा हुन नदिने गरी सदस्यसचिवलाई बर्खास्त गर्न सरकार नै लागिरहेको भन्दै विरोध जनाए । उनले मंसिर २ गतेबाटै प्रतियोगिता सञ्चालन गर्नेगरी सरकारले ध्यान दिनुपर्ने बताए ।

शनिबार सुर्खेत पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिता समयमै गर्न र खेल क्षेत्रमा राजनीति नगर्न सरकारलाई आग्रह गरे ।

एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले भने, ‘मुख्यमन्त्री र एमाले १०औँ राष्ट्रिय खेलकुद समयमा नगर्ने भन्ने पक्षमा होइन । आवश्यक बजेट, पूर्वाधार लगायतको व्यवस्थापन अलि पुग्दैन कि भन्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप