गण्डकी प्रदेशसभामा दुई विधेयक पेस
गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा दुई विधेयक पेस भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सभासमक्ष पेस गरेका हुन् ।
सभाले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठको ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई पारित गरेको छ ।
‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्तावलाई पनि बैठकले पारित गरेको छ ।
सभामा मुख्यमन्त्री पाण्डेले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका थिए । ‘गण्डकी प्रदेशसभा नियमावली–२०८० संसोधन मस्यौदा समिति गठन’ सम्बन्धी प्रस्तावलाई पनि बैठकले पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीले जानकारी दिए ।
उक्त समितिमा प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, कुसुम बुढा, प्रकाश बराल र बिन्दु पौडेल रहेका छन् । समितिको बैठकले संयोजक चुन्ने र कार्यविधि तय गर्ने प्रदेशसभा सदस्य नेपालीले बताए ।
पूर्वप्रदेशसभा सदस्य, प्रदेशसभा र विषयगत समितिको गणकपुरक सङ्ख्यालगायत विषयमा नियमावली संशोधनको मस्यौदा उक्त समितिले तयार गर्ने जनाइएको छ ।
आजको बैठकमा प्रदेशसभासदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र जनजीविकाका विषयमा धारणा राखेका थिए ।