बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

सोमबार, ०७ असोज २०८१, १७ : ५२
सोमबार, ०७ असोज २०८१

काठमाडौँ । नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने  प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । 

सोमबार इन्जिनियरहरूको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले समेत यो प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए । ‘यो प्रक्रिया अघि बढाउन निक्कै ढिला भएको छ,’ मन्त्री दाहालले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पुरा गर्नुपर्छ ।’

सोही कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पुरा हुनेमा विश्वास व्यक्त गरे । उनले इन्जिनियरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनु पर्ने पनि जनाए । त्रिभुवन विश्व विद्यालय इन्जिनियरी अध्ययन संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । 

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाई रहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए । यो प्रक्रिया पुरा हुन ४ देखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप